विशेष मतदानस्थल अपांगमैत्री नहुँदा गोप्य मतदान भएन
Ujyaalo

झापा, मंसिर २१ – झापा क्षेत्र नम्बर ३, बाह्रदशी गाँउपालिका ६ का ३५ वर्षे सन्तोष सुवेदीले खुला ठाउँमा मतदान गर्नु भयो । ह्विल चेयरमा आएका उहाँले मतदानस्थल अपांगमैत्री नहँदा गोप्य रुपमा मतदान गर्न पाउनुभएन ।

सुवेदीले मतदान गर्ने मतदान स्थल विद्यालयको कौसिमा बनाइएको छ , मतदान स्थलमा उक्लिन नसकेर भुँईमै मतदान गर्नुपरेको थियो । यहि मतदान केन्द्रमा अरु दुईजना अपांगता भएकाहरुले पनि सुवेदी जसरी मतदान गर्नुभएको थियो ।

झापामा बिहिबार भएको निर्वाचनमा झण्डै ७० प्रतिशत मत खसेको छ । झापाका ६ सय ९२ मतदान केन्द्रमा बिहान ७ बजेदेखि अपह्रान्ह ५ बजेसम्म मतदान भएको थियो । झापामा ५ लाख ८५ हजार १ सय ६६ मतदाता रहेका छन् ।

मतदान केन्द्रहरुमा पुरुषको भन्दा महिला मतदाताको लर्काे बिहानै देखि लामो देखिएको थियो तर मतदान केन्द्रहरुमा अपांगता भएका व्यक्तिहरुका लागि भने उचित ब्यवस्था नहुँदा उनीहरु खुल्ला ठाँउमै मतदान गर्न बाध्य भएका हुन् ।

यस्तै उचित व्यवस्थापनको कमीले बिरामी मतदाताहरुले मतदानस्थलमा घण्टौ पर्खिएर मतदान गरिरहेका थिए । एकजना बिरामी महिलालाई अक्सिजनको पाइप र सिलिण्डरसाथ मतदानको ल्याइएको थियो । वृद्धवृद्धाहरुलाई पिठ्युमा बोकेर मतदानको लागि मतलानस्थल सम्म ल्याइएको थियो ।

Share It

Post Comments
थप विशेष