विशेष ललितपुरका दुई क्षेत्रमा आजै रातीदेखि मतगणना शुरु हुने
Ujyaalo

विष्णु विश्वकर्मा/उज्यालो ।

ललितपुर, मंसिर २१ – ललितपुरमा आजै रातीदेखि मतगणना शुरु हुने भएको छ ।

मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडीका अनुसार राती ८ बजेसम्म सबै ठाउँबाट मतपेटिका निर्वाचन अधिकृतको कार्यालय जावलाखेलमा ल्याइने र त्यसपछि सर्वदलीय बैठक बसी मतगणना शुरु गरिने भएको हो । तर क्षेत्र नं. १ को मतगणना भोलि बिहान मात्रै शुरु हुने उहाँको भनाई छ ।

ललितपुरका तीनवटै निर्वाचन क्षेत्रमा ७२ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत दवाडीले जानकारी दिनुभयो । तीनवटै निर्वाचन क्षेत्रमा रहेका २७७ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भएको पनि उहाँले बताउनुभयो ।

ललितपुर क्षेत्र नं. १ मा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको निर्वाचन अधिकृत सुरेश खनालले जानकारी दिनुभयो । क्षेत्र नं. १ का ८७ वटै मतदान केन्द्रमा मतदाताले उत्साहजनक रुपमा सहभागिता जनाएको र कुनै पनि अप्रिय घटना नघटेका उहाँले बताउनुभयो ।

क्षेत्र नं. १ मा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा चुनावमा पुर्व डिआइजी नवराज सिलवाल र कांग्रेस उम्मेदवार उदयशमशेर राणाबीच तिब्र प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।

निर्वाचन अधिकृत खनालका अनुसार आज रातभरी मतपेटिका संकलन गरिने र भोलि बिहान मात्रै मतगणना शुरु गरिनेछ । क्षेत्र नं. १ मा टाढाका मतदान केन्द्रबाट मतपेटिका ल्याउन ढिला हुने भएकाले मतगणना ढिला शुरु हुने भएको हो ।

यस्तै, प्रतिनिधिसभातर्फ नै ललितपुर क्षेत्र नं. २ मा पनि शान्तिपूर्ण रुपमा मतदान भएको निर्वाचन अधिकृत बिनोद भट्टराईले जानकारी दिनुभयो । यो क्षेत्रमा कांग्रेसका चन्द्र महर्जन र एमालेका कृष्णलाल महर्जनबीच कडा प्रतिष्पर्धा हुने अनुमान छ ।

राती ९ बजेसम्म मतपेटिका संकलन भएमा सर्वदलीय बैठक बसी ११ बजेसम्म मतगणना शुरु गर्ने तयारी छ । क्षेत्र नं. १ र २ को मतगणना स्टाफ कलेजमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ ।

क्षेत्र नं. ३ मा भने आज रातीदेखि मतगणना गर्ने तयारी छ । आज राती ८ बजेसम्म सबै मतदान केन्द्रका मतपेटिका ल्याइसक्ने र ९ बजेबाट सर्वदलीय बैठक बसी मतगणना शुरु गरिने मुख्य निर्वाचन अधिकृत बाल मुकुन्द दवाडीले जानकारी दिनुभयो ।

यस क्षेत्रको मतगणना स्थानीय विकास प्रशिक्षण केन्द्रमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ । प्रतिनिधिसभा चुनावमा क्षेत्र नं. ३ मा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषाल र कांग्रेसबाट मदन बहादुर अमात्य उम्मेदवार हुनुहुन्छ । ‘हेभीवेट’ र चर्चाका हिसाबले ललितपुरको क्षेत्र नं. १ र ३ बढी चर्चामा छन् ।

 

Share It

Post Comments
थप विशेष