विशेष प्रदेशसभामा पहिलो महिला सांसद म्याग्दीबाट एमालेकी पुन
Ujyaalo

प्रताप बानियाँ/उज्यालो ।

म्याग्दी, मंसिर २२ – म्याग्दीको प्रदेशसभा (ख)मा वाम गठबन्धनबाट एमालेका उम्मेदवार नरदेवी पुनले १० हजार ८ सय ६८ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका अमलाल फगामीले ७ हजार ९ सय ९० मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पुन प्रदेशसभामा  निर्वाचित पहिलाे महिला सांसद हुनुभएकाे छ ।

प्रदेशसभा (ख) मा राष्ट्रिय जनमोर्चाका उम्मेदवार रमेशकुमार पुनले ५७ र राष्ट्रिय जनमुक्ति पार्टीका छमबहादुर रोका मगरले ३५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिनुभयो । प्रदेशसभा (ख) मा कुल मतदाता ३२ हजार ५ सय ४५ रहेकोमा १९ हजार ७ सय ७४ मत खसेको थियो । प्रदेशसभा (ख) मा ८ सय २४ मत बदर भएको कोइरालाले बताउनुभयो ।

प्रदेशसभा (ख) मा विजयी पुन पूर्वराज्यमन्त्री समेत हुनुहुन्छ । २०४१ सालमा तत्कालीन विद्यार्थी सङ्गठन अनेरास्ववियुको मंगला मावि बाबियचौरमा प्रारम्भिक कमिटीको उपाध्यक्षबाट विद्यार्थी राजनीतिमा होमिएकी पुनले अनेमसंघको टोल तयारी समितिको अध्यक्ष, एमालेको युथ लिगको सदस्य हुँदै २०४६ सालमा अनेमसंघको जिल्ला सचिवको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

विद्यार्थी, महिला सङ्गठन हुँदै २०४८ सालदेखि ०६२ सालसम्म पार्टीको जिल्ला सहसचिवको जिम्मेवारी समेत सम्हालेकी पुनले द्वन्द्वकालीन अवस्थामा ग्रामीण क्षेत्रमा पुगेर पार्टीका कार्यकर्ताहरुलाई संरक्षण गर्ने गरेकाले पनि पुन पार्टीभित्र लोकप्रिय हुनुहुन्थ्यो । नेकपा एमालेको इलाका सदस्य हुँदै सचिव, अनेमसंघको ४७ देखि २०६१ सालसम्म जिल्ला अध्यक्ष हुनुभएकी पुनले राजनीतिसँगै पढाईमा पनि राजनीतिक तथा समाजशास्त्र विषयमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गर्नुभएको छ ।

२०५६ सालमा संसदीय चुनावमा पराजित भएकी पुनलाई २०६४ सालमा समेत पार्टीले पहिलो संविधानसभाको चुनावमा उम्मेदवार बनाएको थियो । १० वर्षे जनयुद्धबाट शान्ति प्रक्रियामा आएको माओवादीको लहरसँगै दोस्रोपटक समेत चुनावमा पराजित भए पनि पुनको राजनीतिक यात्रा रोकिएन् ।
२०७० सालमा सम्पन्न दोस्रो संविधानसभा चुनावमा नेकपा एमालेबाट समानुपातिक सांसद बनेकी पुनले एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा पशुपंक्षी विकास राज्यमन्त्रीको पद सम्हाल्नुभएको थियो । पुन मंगला गाउँपालिका–१ कुहुँको भर्जुलाकी स्थायी बासिन्दा हुनुहुन्छ ।

 

Share It

Post Comments
थप विशेष