उम्मेदवार
खोटाङबाट प्रतिनिधिसभाको चुनावमा नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनबाट उम्मेदवार बनेका विशाल भट्टराई एमालेका वैकल्पिक केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँको जन्म २०२५ साल चैत्र २२ गते खोटाङबजार – ६ मा भएको हो । भट्टराईले स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ । २०३८ सालमा खोटाङको भगवती माबिमा अखिलको सदस्य भएर उहाँले राजनीति सुरु गर्नुभएको हो । उहाँ रत्नराज्य र महेन्द्ररत्न क्याम्पसको स्ववियु सभापति हुनुभएको थियो । भट्टराईले अनेरास्ववियुको केन्द्रीय प्रचार प्रमुख भएर पनि काम गर्नुभएको थियो । उहाँ नेकपा एमाले जिल्ला कमिटि सदस्य, उपसचिव, सचिव, अध्यक्ष हुँदै अहिले वैकल्पिक केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँ तत्कालिन बिद्रोही नेकपा माओबादीद्वारा ४६ दिन अपहरणमा समेत पर्नुभएको थियो । २०५६ सालको प्रतिनिधिसभाको चुनावमा नेपाली कांग्रेसका शिवकुमार बस्नेतसँग खोटाङ क्षेत्र नम्बर २ मा पराजित भट्टराई २०६४ सालमा भएको संविधानसभा चुनावमा तत्कालीन माओवादीका उम्मेदवार समिता कार्कीसँग पराजित हुनुभयो । तर २०७० सालको दोस्रो संविधानसभाको चुनावमाा भने उहाँ त्यही क्षेत्रबाट विजयी हुनुभयो ।
थप उम्मेद्‌वारहरू