उम्मेदवार
एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल छैटौं पटक इलाम १ बाट प्रतिष्पर्धा गर्दै हुनुहुन्छ । २०४८, २०५१, २०६४ र २०७० सालमा गरी चारपटक सोही क्षेत्रबाट निर्वाचित भएका खनाल २०५६ सालमा भने कांग्रेसका बेनुप प्रसाईसँग ७० मतको अन्तरमा पराजित हुनु भएको थियो । नेकपा एमालेका पूर्वअध्यक्ष झलनाथ खनालको जन्म २००६ साल चैत ६ गते साँखेजुङ्ग–४, इलाममा भएको हो । खनालले बिएससी र बिएसम्मको अध्ययन गर्नुभएको छ । खनाल गणतन्त्र नेपालको ३४ औं प्रधानमन्त्री हुनुहुन्छ । खनाल २०६७ माघ २० गतेदेखि २०६८ भदौ १२ गतेसम्म प्रधानमन्त्री हुनुहुन्थ्यो । अनेरास्वयवियूबाट राजनीति सुरु गरेका खनाल तत्कालिन नेकपा (माले)को पोलिटव्यूरो सदस्य हुँदै महासचिव समेत हुनुभयो । २०४७ सालमा तत्कालीन नेकपा (माले) र नेकपा (माक्र्सवादी) एकीकरण भई बनेको नेकपा एमालेको स्थायी सदस्य हुँदै खनाल २०६६ सालमा बुटवलमा भएको महाधिवेशनपछि नेकपा एमालेको अध्यक्षमा निर्वाचित हुनुभयो । खनालले एकवर्ष बाग्लुङ्गको गल्कोट माविमा शिक्षण समेत गर्नुभएको थियो । पढाउँदा पढाउँदै राजनीति गरेको आरोपमा उहाँ पक्राउ पर्नुभएको थियो । पछि इलाम पुगेर पञ्चायती व्यवस्थाको विरुद्धमा आन्दोलन गरेको बेला पनि उहाँ पक्राउ पर्नुभयो र १४ महिना जेल बस्नुभयो । २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा वाममोर्चाको उच्चस्तरीय नेता रहेका खनाल प्रजातन्त्र प्राप्तिपछि बनेको अन्तरिम सरकारमा कृषि, भूमिसुधार र वन तथा वातावरण मन्त्री हुनुहुन्थ्यो । पार्टी अध्यक्ष हुँदा खनालले आफ्नै पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको सरकारलाई समेत असहयोग गरेको र आफ्नै नेतृत्वमा सरकार बनाउन प्रयत्न गरेको आरोप छ । उहाँ छिमेकी देश भारतले नरुचाएका नेताका रुपमा परिचित हुनुहुन्छ । उहाँलाई प्रधानमन्त्री हुँदा भारतले भ्रमणको निम्तो समेत दिएको थिएन । साहित्यमा पनि रुची राख्ने खनाल अभिमन्यूको नामबाट लेख लेख्नुहुन्छ । माक्र्सवादी साहित्य अध्ययनमा विशेष रुची राख्ने खनालका १० वटा भन्दा धेरै पुस्तक प्रकाशित छन् । https://www.facebook.com/profile.php?id=100009388719354
थप उम्मेद्‌वारहरू