उम्मेदवार
कृष्ण प्रसाद सिटौला नेपाली कांग्रेस
कृष्णप्रसाद सिटौला नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुनुहुन्छ । पार्टीको तेह्रौं महाधिवेशनमा सभापतिमा पराजित भएका सिटौला केन्द्रीय सदस्यमा मनोनित हुनु भएको हो । कांग्रेसका पूर्वमहामन्त्री सिटौलाको जन्म २००६ सालमा तेह्रथुम जिल्लाको संक्रान्तिमा भएको हो । उहाँको बुबाको नाम रंगप्रसाद सिटौला र आमाको नाम गौरादेवी सिटौला हो । उहाँका १ छोरा र २ छोरी छन् । सिटौलाले त्रिभुवन विश्वविद्यालयबाट बिएससी र बिएलसम्मको अध्ययन गर्नुभएको छ । कम्युनिष्टको किल्ला भनिने झापामा २०४८ सालको आमचुनावमा पराजित भएका सिटौला २०५१ सालको मध्यावधी चुनावमा पनि त्यहीँबाट पराजित हुनुभएको थियो । उहाँ २०५६ सालको चुनावमार्फत पहिलोपटक संसद सदस्यमा निर्वाचित हुनुभएको थियो । २०६२÷०६३ सालको जनआन्दोलनपछि गठन भएको सरकारको गृहमन्त्री भएका सिटौलाले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रकृयामा ल्याउन महत्वपूर्ण भूमिका खेल्नु भएको थियो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको मुख्य सहयोगीका रुपमा काम गरेका उहाँ उपप्रधानमन्त्री, गृह र आपूर्ति मन्त्री बनिसक्नु भएको छ । २०६४ सालको संविधानसभा चुनावमा झापा क्षेत्र नम्बर ३ मा पराजित भएका सिटौला २०७० सालको चुनावमा भने यही क्षेत्रबाट विजयी हुनु भएको थियो । यो चुनावमा उहाँले १४ हजार ३ सय ५५ मत पाउनु भएको थियो ।
थप उम्मेद्‌वारहरू