उम्मेदवार
नेकपा एमाले तेह्रथुमका पूर्वअध्यक्ष भवानीप्रसाद खापुङसँग एक पटक विजय र एक पराजयको अनुभव छ । २०६४ सालको चुनावमा तेह्रथुम क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका तुलसी सुब्बासँग पराजित भएका खापुङ २०७० सालको चुनावमा यही क्षेत्रबाट विजयी हुनु भएको थियो । २०७० सालको चुनावमा उहाँले यो क्षेत्रमा १५ हजार १ सय ११ मत पाउनु भएको थियो । नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगका सदस्य समेत भैसकेका भवानीप्रसाद खापुङ्गको जन्म २०१८ साल असोज १९ गते तेह्रथुमको मोराहाङ्ग–४, मा भएको हो । रामप्रसाद र बिष्णुमायाका छोरा खापुङ ०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा सक्रिय हुनुभएको हो । २०३९ सालमा उहाँ अनरास्ववियू महेन्द्र बहुमुखी क्याम्पस इकाई अध्यक्ष हुनुभयो । गौखुरी मावि मोराहाङबाट एसएलसी दिएका खापुङले महेन्द्र बहुमुखी क्याम्पस, धरानबाट प्रविणता प्रमाणपत्र तह र महेन्द्र मोरङ बहुमुखी क्याम्पस, विराटनगरबाट स्नातक गर्नु भएको हो । तत्कालीन नेकपा मालेको विद्यार्थी संगठनबाट राजनीति थालेर जिल्ला पार्टी सदस्य हुँदै केन्द्रीय अनुशासन आयोसम्म पुग्नुभएको छ । दुई कार्यकाल नेकपा एमाले, तेह्रथुमको सचिव र एक कार्यकाल अध्यक्ष भएका खापुङसँग जनप्रतिनिधिका रुपमा काम गरेको अनुभव पनि छ । खापुङ ०५४ सालको स्थानीय चुनावमा गाविस अध्यक्ष हुनुभएको थियो ।
थप उम्मेद्‌वारहरू