उम्मेदवार
अमृत कुमार अर्याल नेपाली कांग्रेस
नेपाली कांग्रेस मोरङका पुर्व सभापति अमृत अर्यालको जन्म २०१६ साल फागुन १७ गते विराटनगरमा भएको हो । श्यामप्रसाद अर्याल र विष्णुमाया अर्यालका छोरा अमृत अर्याल राजनीतिशास्त्रमा स्नातक हुनुहुन्छ । उहाँ दुई कार्यकाल मोरङको कांग्रेस सभापति हुनुभएको थियो । परिवार नै राजनीतिक भएकोले अर्याल बाल्यकालदेखि नै राजनीतिमा सक्रिय हुनुभयो । ०३८ सालमा नेपाल विद्यार्थी संघको जिल्ला सभापति भएका अर्याल ०४० सालमा पूर्वाञ्चल क्षेत्रीय उपाध्यक्ष बन्नुभयो । पार्टीको जिल्ला सदस्य हुँदै उहाँ जिल्ला सभापति बन्नुभयो । कृष्णप्रसाद भट्टराई सभापति हुँदा पञ्चायतकालमै उहाँले पार्टीको सदस्यता लिनुभएको थियो । पञ्चायत कालमा नेपाली कांग्रेसका नेताहरुको अगुवाईमा भएको हवाईजहाज अपहरण काण्डमा परिवारका दुईजना दाजु विनोद र मदन मुछिएपछि अर्याल राजनीतिमा लाग्नुभयो । दाजुहरु भारत निर्वासनमा रहँदा वीपी कोइरालाको पर्चा नेपाल ल्याएका कारण २०३३ सालमा कक्षा ८ मा पढ्दै गर्दा अर्याल पहिलो पटक पक्राउ पर्नुभयो । २०३५ सालमा वीपी कोईराला विराटनगरमा जाँदा भएको प्रदर्शनका क्रममा पनि अर्याल गिरफ्तार पर्नुभयो भने २०३६ सालमा डेढ महिना जेल बस्नुभयो । ०४१ सालमा पनि पक्राउ परेका उहाँले यातना भोग्नुभयो । ०४२, ०४६ र ०६२–०६३ सालको आन्दोलनमा सक्रिय भूमिका खेलेका अर्याल ०६२–०६३ मा पनि चार महिना जेल बस्नुभयो । ०५४ मा विराटनगर उपमहानगरपालिकाको मेयरमा पराजित भएका अर्याल ०६४ सालको संविधानसभा चुनाव पनि पराजित हुनुभएको थियो । तर २०७० सालको चुनावमा अघिल्लो पटक पराजित भएका फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्नभयो । उहाँले १५ हजार २ सय ९४ मत पाउनु भएको थियो ।
थप उम्मेद्‌वारहरू