उम्मेदवार

नेकपा एमालेको वैकल्पिक केन्द्रीय सदस्य भगवती चौधरीको जन्म २०२८ साल वैशाख २ गते औरवनी ३, सुनसरीमा भएको हो । उहाँका बुबाको नाम विरनलाल चौधरी र आमाको नाम लिटियादेवी चौधरी हो । उहाँका एक छोरा छन् । चौधरीले मानविकी संकायबाट समाजशास्त्र विषयमा स्नातकोत्तर र व्यवस्थापन संकायबाट स्नातक गर्नुभएको छ । सरस्वती मावि औराबनीबाट एसएलसी गरेकी भगवतीले महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पस विराटनगरमा आइकम र बीकम पढ्नुभयो । उहाँले स्नातकोत्तर क्याम्पस बिराटनगरबाट समाजशास्त्रमा स्नातकोत्तर गर्नुभयो । २०६७ सालमा वन तथा भू संरक्षण राज्य मन्त्री बनेकी भगवती २०६४ सालको चुनावमा मन्त्रीपरिषदबाट मनोनित हुँदै सभाषद हुनुभएको थियो । तर २०७० सालको चुनावमा भने तत्कालीन फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँग सुनसरी ३ बाट पराजित हुनुभयो । यसपटकको चुनावमा पनि उहाँले नेपाली कांग्रेसका उम्मेदवार वियज गच्छदारलाई नै प्रतिस्पर्धीका रुपमा पाउनु भएको छ । चौधरीले क्याम्पस पढ्दा थारु विकास समन्वय परिषदको सदस्य र पछि उपाध्यक्ष भएर काम गर्नुभयो । २०४६ सालको आन्दोलनमा सक्रिय भएर काम गरेकी भगवती थारु विकास समन्वय परिषदको सदस्यदेखि उपाध्यक्षसम्म बन्नुभयो । चौधरीले २०४८ र ०४९ सालमा रेडियो नेपालको जिल्ला सम्वाददाता भएर ६ महिना काम गर्नुभयो । २०५१ सालमा ग्रामिण महिला उत्सुकता विकास मञ्च गठन गरी २०५२ सालदेखि विधिवत सञ्चालन गरेकी भगवतीले २०५२ र ०५३ सालमा दुई वर्ष समाजकल्याण परिषदमा सहायक निर्देशक भएर काम गर्नुभयो । चौधरी २०५९ सालमा गैरसरकारी संस्था महासंघको केन्द्रीय सदस्य तथा २०६२ र ०६३ मा कोषाध्यक्ष हुनुभयो । गैरसरकारी संस्थामार्फत क्रियाशिल चौधरी २०६३ सालमा नेकपा एमाले, सुनसरीको जिल्ला कमिटी सदस्यमा मनोनित हुनुभएको थियो ।

थप उम्मेद्‌वारहरू