उम्मेदवार
सिरहाको सीमावर्ती औरही गाउँपालिका –५, स्थायी घर भएका ६१ वर्षीय सुरेशचन्द्र दास यादवले लामो समय कांग्रेसमा रहेर राजनीति गर्नुभएको हो । बाबु देवनाथ दास यादवको बिरासत थाम्दै राजनीतिमा आएका पूराना र अनुभवी नेता मानिने दास कात्तिक १६ गते उम्मेदवारी दर्ता गर्नुभन्दा चार दिनअघि मात्र माओवादी केन्द्रमा प्रवेश गर्नु भएको हो । राणा शासनको अन्त्यपछि २०१५ सालमा भएको आम निर्वाचनमा तत्कालीन सप्तरी जिल्लाबाट (२०१८ अघि सिरहा– सप्तरी एउटै जिल्ला थियो) दासका बाबु देवनाथले देशभरमै सबैभन्दा बढी मत ल्याएर चुनाव जित्नु भएको थियो । निरंकुश पञ्चायती व्यवस्था सुरु भएपछि भारतको दरभङ्गामा निर्वासनमा रहेका बेला बाबुसँगै उतै बसेका सुरेशले पनि त्यति बेलैदेखि राजनीतिप्रति चासो लिन थाल्नु भएको थियो । भारत निर्वासनको लामो बसाइपछि नेता वीपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किएपछि दास बाबुछोरा पनि नेपाल फर्किनु भएको थियो । २०४८ सालमा भएको आम निर्वाचनमा सिराहाको क्षेत्र नम्बर ३ बाट चुनाव लडेका उहाँ जिल्लामै सबैभन्दा बढी मत ल्याएर विजयी हुनु भएको थियो । २०५१ सालको मध्यावधि चुनावमा पुनः त्यही क्षेत्रबाट चुनाव जितेका दास २०५२ सालमा शेरबहादुर देउवाको सरकारमा स्वास्थ्य मन्त्रीसमेत हुनुभयो । जीवनको लामो कालखण्ड कांग्रेसमा बिताएका दास यो चुनावमा भने वामगठबन्धनको उम्मेदवार बन्नु भएको हो ।
थप उम्मेद्‌वारहरू