उम्मेदवार
२०६६ साल जेठ ९ गते गणतन्त्र नेपालको दोश्रो प्रधानमन्त्री भएका माधवकुमार नेपालको जन्म वि.स.२००९ साल फागुन २३ गते रौतहटको गौर ३ मा भएको हो । बुबा मंगलकुमार उपाध्याय नेपाल र आमा दुर्गादेवीबाट जन्मेका माधवकुमार नेपालका एक छोरी र एक छोरा छन् । उहाँले विज्ञान संकायबाट स्नातक तह उत्तीर्ण गर्नुभएको छ । नेपालले आफ्नो राजनीतिक यात्रा २०२६ सालदेखि सुरु गर्नु भएको हो । नेपाल २०३५ सालमा नेकपा मालेको संस्थापक पोलिटव्यूरो सदस्य, २०४६ सालमा संयुक्त वाम मोर्चा सदस्य, २०४७ सालमा नेकपा एमालेको पोलिटव्यूरो सदस्य बन्नु भएको थियो । २०५० सालमा नेकपा एमालेका विदेश विभाग प्रमुख भएका नेपाल २०५१ देखि ०५२ सम्म मनमोहन अधिकारी नेतृत्वको एमालेको ९ महिले सरकारका बेला उपप्रधानमन्त्री तथा रक्षा र पराराष्ट्र मन्त्री हुनुहुन्थ्यो । प्रथम पटक उहाँ राष्ट्रियसभाका सदस्य हुँदै विपक्षी दलका नेता पनि बन्नुभयो । २०५६ सालमा प्रतिनिधिसभा सदस्य तथा विपक्षी दलको नेता भएका नेपाल ०५४ सालमा भएको नेकपा एमालेको छैटौं महाधिवेशनबाट महासचिव हुनुभएको थियो । उहाँ ०५९ मा भएको सातौं महाधिवेशनबाट पनि पुनः महासचिव नै हुनुभयो । २०६४ सालमा भएको संविधानसभा चुनावमा दुई ठाउँबाट पराजित भएपछि र नेकपा एमाले तेश्रो स्थानमा रहेपछि नैतिकताको आधार बताउँदै नेपालले महासचिवबाट राजीनामा दिनुभयो । २०६४ सालको संविधानसभा चुनावमा उहाँ काठमाडौं क्षेत्र नम्वर २ बाट एकीकृत नेकपा माओवादीका झक्कुप्रसाद सुवेदी र रौतहट क्षेत्र नम्बर ६ बाट एकीकृत नेकपा माओवादीकै देवेन्द्र पटेलसँग पराजित हुनुभएको थियो । पछि उहाँलाई मन्त्रिपरिषदले संविधानसभामा सदस्यमा मनोनित गरेको थियो । नेपालले संविधानसभामा संवैधानिक समितिको सदस्य भएर काम गर्नुभएको थियो । त्यस्तै उहाँ २०७० सालको दोस्रो संविधानसभाको चुनावमा भने काठमाडौं २ र रौतहट १ दुवै ठाउँमा विजयी हुनुभएको थियो । २१७४८ मत ल्याएर काठमाडौं क्षेत्र नम्बर २ बाट विजयी हुनु भएको थियो भने ८३६१ मत ल्याएर विजयी हुनुभएको थियो । उहाँले राजनीति गर्ने क्रममा पटक–पटक गरी झण्डै १५ वर्ष भूमिगत जीवन बिताउनु भएको छ ।
थप उम्मेद्‌वारहरू