उम्मेदवार
अम्‍विका बस्‍नेत नेपाली कांग्रेस
नेपाली कांग्रेसकी नेतृ अम्बिका बस्नेतले सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको छ । पटकपटक राजनीतिक बन्दीको रुपमा जेल जीवन बिताएकी बस्नेतले नोना कोइराला नेतृत्वमा रहेको महिला विभागमा समेत बसेर काम गर्नुभयो । कोइराला परिवारको संगतमा राजनीतिमा प्रवेश गरेकी बस्नेतको जन्म २००७ सालमा काठमाडौंमा भएको छ । उहाँका बाबुको नाम शिवध्वज बस्नेत र आमाको नाम कपिलकुमारी बस्नेत हो । उहाँ अविवाहित हुनुहुन्छ । बस्नेतले अर्थशास्त्रमा स्नातक तह तहसम्मको अध्ययन गर्नु भएको छ । २०२९ सालदेखि राजनीतिमा प्रवेश गरेकी वस्नेत २०३६ सालमा विद्यार्थी राजनीतिमा प्रवेश गर्नुभयो । २०४२ सालको सत्याग्रहमा सक्रिय भई पटक पटक बन्दी जीवन भोगेकी बस्नेत नेपाली कांग्रेसको राजनीतिमा भने २०४६ देखि सक्रिय हुनुभयो । २०५६ सालको संसदीय चुनावमा हालकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग काठमाडौंमा पराजित भएकी बस्नेत त्यसपछिका २०६४ र २०७० सालको चुनावमा भने समानुपातिकतर्फबाट सभाषद बन्नुभयो । २०५९ सालमा नेपाल महिला संघको केन्द्रीय सदस्यमा निर्वाचित बस्नेत २०६१ सालमा काठमाडौँ कांग्रेसको जिल्ला सदस्य र नेपाल महिला संघको अध्यक्ष हुनुभयो । पार्टीको १२ औँ र १३ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएकी बस्नेत शेरबहादुर देउवा नेतृत्वको सरकारको एक्लो महिला मन्त्री हुनुहुन्छ ।
थप उम्मेद्‌वारहरू