उम्मेदवार
नेकपा एमालेका महासचिव इश्वर पोखरेलको जन्म विक्रम संवत २०१० साल माघ २२ गते माम्खा ओखलढुंगामा भएको हो । उहाँको बुबाको नाम शिवराज पोखरेल र आमाको नाम रामकुमारी पोखरेल हो । उहाँले शिक्षा र साहित्य विषयमा स्नातक गर्नुभएको छ । उहाँका दुई छोरा छन् । पोखरेल सानो छँदा गाउँमा गाईबाख्रा चराउने, घाँस काट्ने जस्ता घरायसी काममा व्यस्त हुनुभयो । गाउँमा रहँदा साक्षर भएपनि उहाँ स्कूल जान पाउनुभएन । घरमा आमा बाहेक दाजु दिदीहरु कोही पनि नभएकाले घरको काममा बढी खटिनुपथ्र्याे । पोखरेल २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीमा संलग्न हुनुभयो । उहाँले २०२७ सालमा कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नुभयो । २०३२ सालमा पूर्णकालीन कार्यकर्ता भई भूमिगत भएर पार्टी काममा संलग्न हुनुभयो । २०३२ सालदेखि पूर्णकालीन रुपमा राजनीतिमा प्रवेश गरेका पोखरेलले पटक–पटक जेल जीवन बिताउनुभएको छ । २०३३ सालमा अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कोअर्डिनेशन कमिटी मालेको सदस्य हुनुहुन्थ्यो । २०३५ सालमा नेकपा मालेको केन्द्रीय सदस्य भएका पोखरेल २०४७ सालमा नेकपा एमालेको समेत संस्थापक सदस्य हुनुभयो । २०५१ सालमा नेकपा एमालेको अल्पमतको सरकारमा उहाँ प्रधानमन्त्री मनमोहन अधिकारीका प्रमुख राजनीतिक सल्लाहकार हुनुहुन्थ्यो । २०५४ सालमा राष्ट्रियसभाको सदस्य भएका पोखरेल २०५६ मा काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । उहाँ २०५४ असारमा नेकपा एमाले स्थायी कमिटी सदस्यमा चयन हुनुभयो । २०५६ मा प्रधानमन्त्रीको संयोजकत्वमा गठन भएको उच्चस्तरीय समिति अन्तर्गतको चुनाव व्यवस्थापन समितिको संयोजक पनि बन्नुभयो । २०५९ सालमा नेकपा एमाले केन्द्रीय सचिवालयका सचिव भएका पोखरेल २०६० मा पार्टी संगठन विभागको प्रमुखमा चयन हुनुभयो । उहाँ २०६१ सालमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री हुनुभयो । पोखरेल २०६३–०६४मा शान्ति समिति नेपालको सदस्य हुनुभयो । २०६५ सालमा भएको पार्टी महाधिवेशनबाट उहाँ महासचिवमा चयन हुनुभएको हो । केही दिन उपप्रधानमन्त्री पनि बन्नुभयो । २०६४ सालको पहिलो संविधानसभा चुनावमा पनि उहाँ काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्नुभएको थियो । ९ हजार १ सय २० मत प्राप्त गरेका पोखरेल नेपाली कांग्रेसका नरहरि आचार्यसँग पराजित हुनुभएको थियो । उहाँले दोस्रो संविधानसभाको चुनावमा काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिनुभएको थियो ।
थप उम्मेद्‌वारहरू