उम्मेदवार
नेकपा एमालेका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठको जन्म विक्रम संवत २०१५ साल असोज १५ गते विजयादशमीको दिन काठमाडौंमा भएको हो । उहाँको बुबाको नाम हरिलाल श्रेष्ठ र आमाको नाम हरिमाया श्रेष्ठ हो । उहाँका एक छोरा र दुई छोरी छन् । उहाँले अर्थशास्त्रमा एमए गर्नुभएको छ । नेता श्रेष्ठ हाल काठमाडौं महानगरपालिका वडा नम्वर १४ बल्खुमा बस्नुहुन्छ । उहाँका बाबुआमा काठमाडौंको राणा थर भएका एक व्यक्तिको घरमा डेरा गरी बस्नुहुन्थ्यो । डेरामा नै कृष्णगोपालको जन्म भएको हो । राणा परिवारका बालबालिकाले पढेको देखेर कृष्णगोपालले सानो उमेरमा अक्षर चिन्ने मौका पाउनुभयो । स्कूल जान त पाउनुभएन । तर घरबेटीका छोराहरुले लेखपढ गरेको देखेर उहाँले धेरै कुरा सिक्नुभयो । पछि एकैपटक ५ कक्षामा भर्ना भएर आफ्नो पढाई पूरा गर्नुभएको हो । सानै उमेरमा गरिबी, अभाव र पछौटेपन भोगेका नेता श्रेष्ठलाई त्यहीबेलादेखि प्रगतिशील विचारधाराले प्रभावित बनायो । २०३५ सालमा अनेरास्ववियु हुँदै तत्कालीन नेकपा मालेसँग उहाँको सम्पर्क भयो । त्यहीबेला उहाँ पार्टीको संगठित सदस्य बन्नुभयो । २०३७ सालमा अनेरास्ववियुले गरेको पहिलो नेपाल बन्दमा उहाँ सक्रियतापूर्वक सहभागी हुनुभएको थियो । विद्यार्थी र पार्टी आन्दोलनमा सहभागी हुँदा उहाँ पटकपटक जेल समेत पर्नुभएको छ । नेता श्रेष्ठ २०३८ सालमा पार्टीको काठमाडौं जिल्ला कमिटी सचिव हुनुभयो । श्रेष्ठ २०४२ सालमा भक्तपुर र २०४६ सालमा ललितपुरको पार्टी सचिव हुनुभएको थियो । यसअघि २०३६÷०३७ सालमा उहाँ उपत्यका समन्वय कमिटीको सदस्य बन्नुभएको थियो । २०४७ सालमा अखिल नेपाल किसान संघको सचिव भएका नेता श्रेष्ठ २०५४ सालमा नेकपा एमालेको काठमाडौं उपत्यका कमिटी सचिव बन्नुभयो । २०५४ सालदेखि उहाँ निरन्तर नेकपा एमालेको केन्द्रीय सदस्य हुनुहुन्छ । २०४८ सालको आमचुनावमा मदन भण्डारीले छाडेको काठमाडौं क्षेत्र नम्बर ५ मा भएको उपचुनावमा उहाँ नेकपा एमालेको तर्फबाट निर्वाचित हुनुभयो । यस्तै २०५१ को आम चुनावमा काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचित हुनुभयो । २०५६ मा काठमाडौं ९ बाट उम्मेदवारी दिएका श्रेष्ठ पराजित हुनुभएको थियो । २०६४ सालको पहिलो संविधानसभा चुनावमा पनि उहाँ त्यही क्षेत्रबाट उम्मेदवार बन्नुभएको थियो । तर पराजित हुनुभयो । दोस्रो संविधानसभाको चुनावमा पनि काठमाडौं क्षेत्र नम्बर ९ बाट नै उम्मेदवारी दिएपनि उहाँ विजयी भने हुनसक्नु भएन । २०६१ सालमा उहाँ स्थानीय विकास राज्यमन्त्री हुनुभएको थियो । पार्टीका हरेक काममा सक्रिय हुने श्रेष्ठले २०४६ सालमा एउटा महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुभएको थियो । त्यो बेला सिरहामा भूमिगत रुपमा भएको पार्टी सम्मेलनमा उहाँलाई काठमाडौंबाट प्रतिनिधि बनाइएको थियो । त्यतिबेला काठमाडौंमा रहेका नेताहरु राधाकृष्ण मैनाली, केपी शर्मा ओली र मोदनाथ प्रश्रितलाई लुकाएर सिरहासम्म लैजाने जिम्मेवारी उहाँले सफलतापूर्वक सम्पन्न गर्नुभएको थियो ।
थप उम्मेद्‌वारहरू