उम्मेदवार
ललितपुर वडा नम्बर ९, ओम्बहालमा कृष्णलाल महर्जनको जन्म २०११ साल मंसीर ३० गते भएको हो । बुबा कान्छा महर्जन र आमा कान्छी महर्जनका छोरा कृष्णलाल महर्जनले मानविकी संकायबाट प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गर्नुभएको छ । २०२४ सालदेखि राजनीतिमा सक्रिय महर्जन २०२८ सालको आन्दोलनताका ६ महिना जेल पर्नुभयो । त्यस्तै तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरुद्ध चलेको प्रमुख दलहरूको आन्दोलनताका २०६१ सालमा घाइते पनि हुनुभएका महर्जनलाई २०६२ सालमा पनि बन्दी बनाइएको थियो । प्रतिगमनविरुद्ध सात दलको आन्दोलनताका उहाँले समन्वयकारी भूमिका निभाउनुभएको थियो । आन्दोलन ताका नेकपा एमालेका केन्द्रीय नेताहरूसहित मुख्यदलका शीर्ष नेताहरूलाई आफ्नै निवासमा भेला गरी समन्वय र सहकार्यको वातावरण तयार गर्न उहाँको धेरै योगदान रहेको छ । उहाँ हाल नेकपा एमालेका राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुनुहुन्छ भने काठमाडौं उपत्यका समन्वय समितिका पनि सदस्य हुनुहुन्छ । महर्जन २०५६ सालको संसदीय चुनावमा ललितपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो । २०२९ सालदेखि ईट्टा व्यवसायमा लागेका महर्जनले २०५१ सालदेखि ईट्टा व्यवसाय छोडेर पूर्णरूपमा राजनीतिमा लाग्नुभएको हो । विभिन्न सामाजिक संघसंस्थामा पनि आवद्ध महर्जन २०५२ सालमा नेपाल व्यापार प्रवद्र्धन केन्द्रको बोर्ड सदस्य, २०५४ सालमा भक्तपुर ईट्टा टायल कारखानाको बोर्ड अध्यक्ष र २०५५ सालमा नेपाल साना तथा घरेलु उद्योग महासंघका केन्द्रिय सदस्य पनि हुनुभयो । उहाँका एक छोरा र तीन छोरी छन् ।
थप उम्मेद्‌वारहरू