उम्मेदवार
चन्द्र महर्जनको जन्म २०११ साल मंसिर १ गते ललितपुर –८, सुबाहालमा भएको हो । उहाँको बाबुको नाम चन्द्रमान महर्जन र आमाको नाम बुद्धिमाया महर्जन हो । उहाँका २ छोरा र ३ छोरी छन् । उहाँले राजनीतिशास्त्रमा स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ । २०२८ सालमा तत्कालीन नेकपा चौम (चौथो महाधिवेशन)बाट राजनीतिक यात्रा थालेका महर्जन अहिले नेपाली कांग्रेसमा आवद्ध हुनुहुन्छ । सुरुमा कम्युनिष्टप्रति आस्था राख्ने उहाँ २०४६ सालको प्रजातन्त्र पुनस्र्थापनापछि नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको हो । नेपाली कांग्रेसको भातृ संगठन जनजाति संघको केन्द्रीय सदस्य र विभागमा रहेर पनि काम गरेका उहाँले नेपाली कांग्रेसको जिल्ला सभापति भएर पनि काम गर्नुभएको छ । महर्जन २०४९ सालमा ललितपुर उपमहानगरपालिकाको उपमयेर पनि हुनुभएको थियो । २०६४ सालको संविधानसभा चुनावमा ललितपुर २ मा पराजित भएका उहाँ १६ हजार ३ सय ९२ मत प्राप्त गरी दोश्रो हुनुभएको थियो । तर २०७० को दोस्रो संविधानसभाको चुनावमा भने ललितपुर उपमहानगरपालिका २ बाट नै उहाँ २३२३२ मत ल्याएर विजयी हुनुभएको थियो । उहाँले ७५ दिन बन्दी जीवन विदाउनु भएको छ । राजनीतिमा लागेपछि पटकपटक गिरफ्तारीमा पनि पर्नुभएको छ । ईंट्टा व्यवसायमा संलग्न महर्जन ज्यापू समाजको उपाध्यक्ष, गणेशमान सिंह अध्ययन प्रतिष्ठानको महासचिव तथा रोटरी क्लवको संस्थापक सदस्य हुनुहुन्छ ।
थप उम्मेद्‌वारहरू