उम्मेदवार
नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य उर्मिला अर्यालको जन्म विक्रम संवत २०१३ साल असोज २० गते पर्सा मसियानी गाविसमा भएको हो । उहाँ हाल वीरगञ्जमा बस्नुहुन्छ । उहाँको बुवाको नाम बलराम अर्याल र आमाको नाम जगतमाया अर्याल हो । उहाँका एक छोरा र एक छोरी छन् । नेपाल राष्ट्रिय विद्यापीठ प्राविमा एसएलसीसम्मको पढाइ सकेकी उहाँले ठाकुरराम बहुमुखी क्याम्पसबाट मानविकी र शिक्षा संकायमा स्नातक तहको अध्ययन पूरा गर्नुभएको छ । उहाँले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर पास गर्नुभएको छ । यस्तै इन्दिरा गान्धी खुला विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी नेतृ अर्याल विद्यार्थीकालदेखि नै वामपन्थी राजनीतिमा लाग्नुभएको हो । परिवारका सदस्य बामपन्थी पृष्ठभूमिका भएका कारण उहाँलाई सानै उमेरदेखि राजनीतिले छोयो । २०२८ सालमा उहाँ नेकपा चौम (चौथो महाधिवेशन)मा प्रवेश गर्नुभयो । २०३५ सालमा नेकपा चौमकै पर्सा जिल्लाको सदस्य बन्नुभयो । त्यहीबेलादेखि उहाँले पार्टी सदस्यता पाउनुभएको हो । २०३६ सालको विद्यार्थी आन्दोलनमा सकृय सहभागी भएकी उहाँ त्योबेला ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु उपसभापति हुनुभएको थियो । २०३८ सालमा उहाँ नेकपा चौम अन्तर्गत अखिल नेपाल महिला संघको केन्द्रीय अध्यक्षमा चयन हुनुभयो । २०४६ सालको जनआन्दोलनमा उहाँ संयुक्त वाममोर्चामा संलग्न हुनुभयो । त्यहीबेला उहाँ तत्कालीन नेकपा मालेमा प्रवेश गर्नुभयो । २०५० सालमा उहाँ नेकपा एमालेको पर्सा जिल्ला कमिटी सदस्यमा चयन हुनुभयो । २०४८, २०५१ र २०५६ मा उहाँ पर्सा ४ बाट एमालेको तर्फबाट उम्मेदवार बन्नुभएको थियो । तर २०५६ को चुनावमा मात्र उहाँ विजयी हुनुभयो । उहाँ २०६३ सालमा महिला, बालबालिका तथा समाजकल्याण राज्यमन्त्री तथा २०६८ सालमा स्थानीय विकासमन्त्री बन्नुभएको थियो । उहाँ २०७० जेठ ४ गते नेकपा एमाले परित्याग गरी एकीकृत नेकपा माओवादीमा प्रवेश गर्नुभएको थियो । नेकपा एमालेमा हुँदा केन्द्रीय सदस्य बन्न नपाएकी उहाँ हाल माओवादीको सचिवालय सदस्य हुनुहुन्छ ।
थप उम्मेद्‌वारहरू