उम्मेदवार
रामचन्द्र पौडेल नेपाली कांग्रेस
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको जन्म २००१ साल असोज ३० गते तनहुँको रिस्तीमा भएको हो । दुर्गाप्रसाद पौडेल र ऋषिमाया पौडेलका छोरा रामचन्द्रले मानविकी संकायमा स्नातकोत्तर गर्नु भएको छ । पौडेलले विद्यार्थी हुँदा नै २०१७ सालदेखि राजनीति थाल्नुभएको हो । नेपाली राजनीतिका पाका नेतामध्येका एक पौडेल २०४६ सालको राजनीतिक परिवर्तन भएपछि भएका सबै चुनाव जित्ने थोरै नेतामध्ये एक हुनुहुन्छ । २०४८ सालमा तनहुँ क्षेत्र नम्बर १ बाट चुनाव जितेका पौडेल २०५१ र २०५६ सालमा तनहुँ क्षेत्र नम्बर २ बाट विजयी हुनुभएको थियो । २०६४ सालको संविधानसभा चुनावमा पनि तनहुँ क्षेत्र नम्बर २ बाट विजयी पौडेलले १८ हजार ९ सय ७० मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादीका डम्बरबहादुर विश्वकर्माले ११ हजार ५० मत प्राप्त गर्नुभएको थियो । तेश्रो स्थानमा रहेका नेकपा एमालेका प्रतापलाल श्रेष्ठले ८ हजार ८ सय ९२ मत प्राप्त गर्नुभएको थियो । २०६४ सालको चुनावपछि पौडेल संविधानसभामा नेपाली कांग्रेसका तर्फबाट संसदीय दलको नेता पनि हुनुभयो । संसदीय दलको नेता प्रधानमन्त्री बन्ने कांग्रेसको विधानअनुसार उहाँ पटक–पटक प्रधानमन्त्रीको उम्मेदवार बन्नुभयो । तर प्रधानमन्त्री बन्ने प्रयासमा १७ पटकसम्म एक्लो उम्मेदवार भएका पौडल प्रधानमन्त्री भने बन्न सक्नु भएन । नेपाली राजनीतिमा १७ पटक प्रधानमन्त्रीको उम्मेदवार बन्दा पनि प्रधानमन्त्री नभएको नेताका रुपमा उहाँको नाम दर्ज भयो । नेपाली राजनीतिको यो पहिलो घट्ना हो । २०७० सालको चुनावमा पनि पौडेलको विजय यात्रा रोकिएन । तनहुँको क्षेत्र नम्बर २ बाटै उहाँ १८ हजार १ सय ४९ मत ल्याएर विजयी हुनुभयो । पार्टी सभापति सुशील कोइरालाको निधनपछि संस्थापन पक्षको बिरासत थाम्न कांग्रेस सभापतिमा उठेका पौडेल शेरबहादुर देउवासँग पराजित हुनुभयो । पौडेलले राजनीतिकै क्रममा पटक–पटक गरी १३ वर्ष जेल जीवन बिताउनु भएको छ । २०४८ सालको चुनावपछि बनेको नेपाली कांग्रेसको सरकारमा स्थानीय विकाय मन्त्री बनेका पौडेल त्यसपछि सभामुख र उपप्रधानमन्त्री पनि बन्नु भयो । विभिन्न सरकारमा कृषि मन्त्री, शान्ति तथा पूनर्निर्माण मन्त्री भएका पौडेलको प्रधानमन्त्री बन्ने सपना भने अधुरै छ । नेपाली कांग्रेसमा अध्ययनशील नेता मानिने पौडेल कार्यकर्ताको संरक्षण गर्न नसक्ने नेताका रुपमा परिचित हुनुहुन्छ । मध्यमार्गीको पहिचान बनाउन खोज्ने नेताका रुपमा आफूलाई स्थापित गर्न खोज्ने नेता पौडेल त्यसमा सफल भने हुन सक्नु भएको छैन । पदमा रहँदा आर्थिक विषयमा विवादमा नपरेका नेता पौडेललाई २०५१ सालमा स्थानीय विकास मन्त्री हुँदा तत्कालीन राष्ट्रिय सभा सदस्य गोल्छे सार्कीले आफू बोलिरहेका बेला जिस्क्याएको भन्दै संसदमै थप्पड हान्नुभएको थियो । पौडेलका ‘प्रजातान्त्रिक समाजवाद’, ‘नयाँ सन्दर्भमा समाजवाद’ लगायत आधा दर्जन कृति प्रकाशित छन् ।
थप उम्मेद्‌वारहरू