उम्मेदवार
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी २०२५ साल जेठ १० गते तनहुँ पुर्कोटको भण्डारी गाउँमा जन्मिनु भएको हो । दयानिधि र अम्बिका भण्डारीका छोरा शंकर वन तथा भू संरक्षण मन्त्रीसमेत बन्नुभयो । २०७० सालको चुनावमा तनहुँको क्षेत्र नं १ बाट उहाँ ५ हजार मतान्तरले विजयी हुनु भएको थियो । दुई पटक कांग्रेसको केन्द्रीय सदस्य भइसकेका भण्डारी विद्यालयदेखि नै नेविसंघको राजनीतिमा आवद्ध भए पनि २०३६ सालको विद्यार्थी आन्दोलनदेखि सक्रिय हुनु भएको हो । कांग्रेस परिवारमा जन्मिएका भण्डारी ठूलो दाजु छत्रराज भण्डारीको प्रेरणाबाट नेविसंघको राजनीतिमा प्रवेश गर्नु भएको थियो । २०४० सालमा एसएलसी दिएपछि उच्च शिक्षाका लागि राजधानी गएपछि सरस्वती क्याम्पसमा भर्ना भएका भण्डारीले त्यहाँबाट आफ्नो राजनीतिक यात्रालाई थप गति दिनुभयो । विद्यार्थी हुँदै २०४६ सालको जनआन्दोलनमा उहाँ सक्रिय हुनुभयो । २०४६ सालमा गणेशमान सिंहको घरमा पार्टी सम्मेलनका लागि मञ्च बनाउँदै गर्दा पक्राउ परेका भण्डारी २९ दिन प्रहरी हिरासतमा बस्नुभयो । बहुदल आएपछि त्रिचन्द्र क्याम्पसमा भर्ना भएका भण्डारी २०४८ सालमा नेविसंघ इकाई सभापति बन्नुभयो । २०४९ सालमा स्ववियू सभापतिमा निर्वाचित भण्डारी २०५३ सालमा तनहुँ क्षेत्र नम्बर १ बाट पार्टीको महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको थियो । नेपाल तरूण दलको केन्द्रीय सदस्य भएका भण्डारी कांग्रेस विभाजनसँगै प्रजातान्त्रिकतर्फ आवद्ध हुनुभयो । नेपाल तरूण दलको केन्द्रीय अध्यक्षमा प्रतिस्पर्धा गरेका भण्डारी १६ मतले पराजित हुनु भएको थियो ।
थप उम्मेद्‌वारहरू