उम्मेदवार
स्वास्थ्य मन्त्री दिपक बोहोराको जन्म २००७ साल चैतमा पाल्पाको तानसेन भगवती टोलमा भएको हो । उहाँ २०२४ सालदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ । पञ्चायत र गणतन्त्रकालमा मन्त्री हुने भाग्यमानी नेतामध्ये बोहरा पनि एक हुनुहुन्छ । पञ्चायतको पतनपछि गठन भएको राप्रपा (चन्द) बाट दलीय राजनीति सुरु गरेका बोहोरा राप्रपा (थापा) र राप्रपा (चन्द) एक भएर राप्रपा बनेदेखि फूट हुँदासम्म केन्द्रीय नेतृत्वमा प्रभावशाली नेता भएर काम गर्नुभयो । पार्टीको केन्द्रीय सदस्य, कोषाध्यक्ष बन्दै महामन्त्री बनेका बोहरा राप्रपा र राष्ट्रिय जनशक्ति एक हुनुअघि पनि राप्रपाको महामन्त्री हुनुहुन्थ्यो । पञ्चायतकालमा राष्ट्रवादी विद्यार्थी मण्डलको नेता भएर काम गरेका बोहोराले पञ्चायती राजनीतिमा कहिल्यै पछाडि फर्केर हेर्नु परेन । ०३८ र ०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्य बनेका बोहरा ०३८ सालमा चुनाव जितेपछि पर्यटन सहायक मन्त्री बन्नुभयो । त्यसपछि पर्यटन राज्यमन्त्री र यातायात मन्त्री हुनुभयो भने गणतन्त्रपछि माधवकुमार नेपाल नेतृत्वको सरकारमा वन मन्त्री हुनुभयो । ०४८, ०५१ र ०५६ र ०६४ मा चुनाव लडे पनि बोहोरा पराजित हुनुभयो । तर २०७० सालको चुनावमा उहाँ रुपन्देही –२, बाट विजयी हुनुभयो । ०५६ सालको चुनावमा नेपाली कांग्रेसले धाँधली गरेको भन्दै अदालतमा उजुरी दिएर पूनरावेदन अदालतको आदेशमा भएको पुनः मतगणनामा उहाँ विजयी घोषित भएको भए पनि सो निर्णय हुँदासम्ममा संसदको कार्यकाल सकिइसकेको थियो । उहाँको पुख्र्यौली घर गुल्मीको अग्लुङ भए पनि उहाँका बुबा प्रतिमान चन्द बोहरा बडाहाकिम भएर पाल्पामा बस्दा दिपक बोहराको जन्म पाल्पामा भएको थियो । उहाँकी आमाको नाम निमाकुमारी हो । बिए पास गरेका बोहराका दुई छोरा र एक छोरी छन् । उहाँकी श्रीमती उन्नति बोहरा ‘शीला’ गीतकार र प्राज्ञ हुनुहुन्छ ।
थप उम्मेद्‌वारहरू