उम्मेदवार
नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय सदस्य कृष्णबहादुर महरा हाल उपप्रधान तथा विनाविभागीय मन्त्री हुनुहुन्छ । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीलाई विनाविभागीय बनाउँदा उहाँ पनि परराष्ट्र मन्त्रालयको जिम्वेवारीबाट मुक्त हुनुभयो । २०७३ देखि पार्टी केन्द्रीय कार्यालय सदस्य रहेका महरा यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पनि उपप्रधान तथा अर्थमन्त्री हुनु भएको थियो । त्यसअघि २०६७ सालमा पनि उहाँ उपप्रधान तथा गृह मन्त्री हुनु भएको थियो । २०७० सालको निर्वाचनमा रोल्पा क्षेत्र नं. १ बाट निर्वाचित महरा २०७१ सालमा पार्टीको महासचिवमा निर्वाचित हुनु भएको थियो । २०३५/०३६ सालको विद्यार्थी आन्दोलनमा संलग्न भएपछि उहाँ राजनीतिमा सक्रिय हुनु भएको हो । २०३६ सालदेखि २०३९ सालसम्म नेपाल राष्ट्रिय शिक्षक संगठन रोल्पाको सचिव र केन्द्रीय प्रतिनिधि बनेका महरा २०३७ सालमा तत्कालीन नेकपा चौमको रोल्पा जिल्ला सदस्य हुनुभयो । २०३९ देखि ०४१ सालसम्म अनेरास्ववियू आठौं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य र केन्द्रीय उपाध्यक्ष हुँदै पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु कोषाध्यक्ष हुनुभयो । २०४१ सालदेखि ०४५ सालसम्म नेपाल रेडक्रस सोसाईटी रोल्पा जिल्ला शाखाको मन्त्री बनेका उहाँ २०३६ सालदेखि ०४८ सम्म विज्ञान र गणित शिक्षकको रुपमा १० वर्ष काम गर्नुभयो । २०४८ सालदेखि नेकपा मशालको रोल्पा जिल्ला पार्टी सेक्रेटरी भएका महरा २०४८ सालको चुनावमा रोल्पा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभयो । २०५० सालमा संयुक्त जनमोर्चा नेपाल संसदीय दलको नेता बनेका महरा त्यही वर्ष नेकपा एकता केन्द्रको क्षेत्रीय संगठन समिति र राप्ती अञ्चलको सदस्य हुनुभयो । २०५१ सालमा नै नेकपा माओवादीको पश्चिचमाञ्चल क्षेत्रीय व्युरो सदस्य बनजेका महरा २०५३ सालको असारमा केन्दीय सदस्य र २०५५ सालमा पोलिटब्यूरो सदस्य हुनुभयो । माओवादी द्वन्द्वका क्रममा २०५८ सालमा तत्कालीन सरकारसँग पहिलो पटक वार्ता हुँदा महरा वार्ता टोली संयोजक हुनुहुन्थ्यो । २०६० सालमा सरकारसँग भएको वार्तामा पनि माओवादीको तर्फबाट प्रवक्ता भएका महरा २०६१ सालमा पार्टी प्रवक्ता पनि हुनुभयो । २०६२ सालमा स्थायी समिति सदस्य र सेक्रेटारियट सदस्य हुनुभयो । २०६३ सालमा तत्कालीन सरकारसँग वार्ताको लागि गठन भएको वार्ता टोलीको संयोजक बनेका उहाँ अन्तरिम संविधान जारी भएपछि निर्मित अन्तरिम व्यवस्थापिका संसदको सदस्य तथा माओवादीको संसदीय दलको नेता पनि बन्नुभयो । चैतमा गठन भएको अन्तरिम सरकारको सूचना तथा संचार मन्त्री र सरकारको प्रवक्ता भएका उहाँ २०६४ मा भएको पहिलो संविधानसभा चुनावमा दाङ क्षेत्र नं ३ बाट निर्वाचित हुनुभयो । २०६५ सालको भदौमा प्रचण्ड नेतृत्वको सरकारको सूचना तथा संचार मन्त्री तथा सरकारको प्रवक्ता बनेका महरा २०६५ सालमा पार्टी एकतापछि एनेकपा (माओवादी) को स्थायी समिति सदस्य र २०६६ सालमा अन्तर्राष्ट्रिय ब्यूरोको ईन्चार्ज हुनुहुन्थ्यो । २०१५ साल असार १५ गते रोल्पाको लिवाङ ७ धारापानीमा जन्मिएका महराले शिक्षाशास्त्रमा स्नातक गर्नु भएको छ । बालकल्याण उच्चमावि लिबाङबाट एसएलसी गरेका महराले प्रविणता प्रमाण पत्र तह विज्ञान विषयमा महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्जबाट गर्नुभयो । त्रिविवि नेपाल (पोखरा) बाट उहाँले स्नातह तह पास गर्नु भएको हो ।
थप उम्मेद्‌वारहरू