उम्मेदवार
प्रेमबहादुर आले मगरको जन्म २०२८ साल बैशाख १७ गते डोटीको छतिवन गाविस ९ मा भएको हो । उहाँका बुबाको नाम टेकबहादुर आले र आमाको नाम गंगादेवी आले हो । उहाँले भारतको मुम्बईमा रहेको सेन्टमेरिज हाईयर सेकेन्डरी स्कूलबाट प्रविणता प्रमाण पत्र तह उत्तीर्ण गर्नुभएको छ । भारतमा अध्ययनकै क्रममा २०४० सालमा शिव सेनाबाट राजनीति सुरु गरेका आले २०५१ सालमा नेकपा एमालेमा प्रवेश गर्नुभएको हो । तत्कालीन मनमोहन अधिकारीको आफ्नो गाउँ आफैं बनाउँ भन्ने अभियानबाट प्रेरित भएर नेकपा एमाले प्रवेश गरेका आले त्यसअघि नेपाली कांग्रेसको सक्रिय सदस्य हुनुहुन्थ्यो । नेकपा एमाले डोटीको जिल्ला उपसचिव भएर दुई कार्यकाल काम गरेका उहाँ हाल क्षेत्र नम्बर २ बाट नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद सदस्य हुनुहुन्छ । डोटी जिल्ला विकास समितिमा सदस्य भएर उहाँले यसअघि काम गर्नुभएको छ । २०६४ सालको संविधानसभा चुनावमा यही क्षेत्रमा पराजित भएका उहाँ २०७० सालको चुनावमा भने विजयी हुनुभएको थियो । उहाँ कैलालीमा रहेको शैलेश्वरी फारवेस्ट स्कुल अफ हेल्थ साईन्स एण्ड टेक्नोलोजीका सञ्चालक पनि हुनुहुन्छ ।
थप उम्मेद्‌वारहरू