उम्मेदवार
मदनकुमारी शाह, गरिमाको जन्म २०२६ सालमा टिकापुर नगरपालिका –८, सीतापुरमा भएको हो । उहाँले राजनीति शास्त्रमा स्नातकोत्तर गर्नु भएको छ । २०४६ सालदेखि नेकपा एमालेमा क्रियाशील मदनकुमारी २०६२/०६३ सालको जनआन्दोलनमा पटक–पटक पक्राउ पर्नु भएको थियो । कक्षा ६ मा पढ्दादेखि नै राजनीतिक गतिविधिमा संलग्न मदनकुमारी सुरुमा नेकपा अमात्य गु्रपमा आवद्ध हुनु भएको थियो । बुवा रोजगारीका लागि भारत गएकाले उहाँको वाल्यकाल पनि भारतमै बित्यो । नेपालमा प्रजातन्त्रको आन्दोलन चलिरहँदा नेपालका धेरै नेता भारतमै भूमिगत भएका थिए । मदनकुमारी शाह पनि नेपाली नेताले भारतमा गर्ने राजनीतिक गतिविधिमा संलग्न हुनुभयो । नेपालमा पनि छुवाछुत र लैंगिक विभेदका विरुद्ध आन्दोलन भैरहँदा उहाँ २०४६ सालमा अखिल भारत स्ववियूको केन्द्रीय सदस्य बन्नुभयो । २ कार्यकाल अखिल भारत स्ववियूको महासचिव भएकी मदनकुमारीले भारत प्रवास कमिटीमा समेत काम गर्नु भएको थियो । २०५७ सालमा नेपाल फर्किएपछि उहाँ पार्टीको राष्ट्रिय पार्षद बन्नुभयो । युवा संघको केन्द्रीय सदस्य बनेकी शाहले राष्ट्रिय युवा नीति निर्माण कार्यदलमा समेत काम गर्नुभयो । पार्टीको युवा तथा विद्यार्थी विभागको सदस्य भएकी शाह युवा संघको उपाध्यक्ष हुँदै आठौं राष्ट्रिय महाधिवेशनपछि नेकपा एमालेको केन्द्रीय कमिटीमा पुग्नुभयो । यस्तै शाहले कैलालीको इन्चार्ज तथा सेती अञ्चलको सहसंयोजक भएर समेत काम गर्नु भएको छ । हाल केन्द्रीय सदस्य रहेकी शाह २०६४ सालको चुनावमा यसै क्षेत्रबाट पराजित हुनु भएको थियो । २०७० सालको चुनावमा समानुपातिकतर्फबाट सभाषद बनेकी शाह यस पटक फेरि पार्टीको विश्वासमा पर्नुभयो र प्रत्यक्षमा टिकट पाउनुभयो ।
थप उम्मेद्‌वारहरू