उम्मेदवार
मोहन सिंह राठौर नेपाली कांग्रेस
नेपाली कांग्रेसका नेता मोहनसिंह राठौरको जन्म २०१० साल माघ ११ गते बडागाँउ ७ सल्यानमा भएको हो । विद्यार्थीकालदेखि नै कम्युनिष्ट राजनीतिमा लागेका मोहनसिंह पहिलो पटक नेपाली कांग्रेसको उम्मेदवार बन्नु भएको हो । यही कात्तिक १३ गते नेकपा एमाले परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेका राठौरले १४ गते टिकट हात पार्नु भएको थियो । २०७० सालको चुनावमा नेकपा एमालेबाट कैलाली २ मा ११ हजार ९ सय ३२ मत ल्याएर विजयी हुनु भएको थियो । राठौरले अर्थशास्त्रमा स्नातकोत्तर गर्नु भएको छ । २०३६ सालदेखि ०४२ सालसम नेपाल सरकारको अधिकृत भएर सेवा गरेका राठौर २०४७ सालपछि राजनीतिमा सक्रिय हुनु भएको हो । परिवारका सबै सदस्य कांग्रेस हुँदा पनि विद्यार्थी छँदै कम्युनिष्टबाट प्रभावित भएका राठौर भने नेकपा एमालेमा लाग्नु भएको थियो । २०४७ सालमा माले र माक्सवादी एकीकरण भएर बनेको नेकपा एमालेको गाउँ कमिटि हुँदै जिल्ला सदस्य हुनुभयो । २०४९ सालदेखि ०५९ सालसम्ममा उहाँ पार्टीको जिल्ला उपाध्यक्ष र त्यसपछि ५ वर्ष केन्द्रीय अनुशासन आयोगको सदस्य हुनुभयो । २०६३ सालमा बनेको अन्तरिम सरकारको उहाँ शिक्षा तथा खेलकुद राज्यमन्त्री हुनुभयो । तर पहिलो संविधानसभाको चुनावमा एमालेबाट उम्मेदवार बनेका राठौर पराजित हुनुभयो । पार्टीको महाधिवेशनमा भने दुई पटक केन्द्रीय सदस्यको उम्मेदवार बनेका राठौर दुबै पटक पराजित हुनुभयो । २०७० सालको चुनावमा एमालेबाट जित हात पारेका राठौर यस पटक नयाँ चिन्हमा परीक्षणमा हुनुहुन्छ ।
थप उम्मेद्‌वारहरू