उम्मेदवार
नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य झपटबहादुर रावलको जन्म २०३१ सालमा अछामको लाफामाडौंमा भएको हो । अन्नपूर्ण मावि कालागाँउबाट २०४७ सालमा एसएलसी उत्तीर्ण रावलले नेपाल कमर्स क्याम्पस काठमाडौंबाट बिकम र त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नु भएको हो । २०४३ सालमा पञ्चायतको जनपक्षीय उम्मेदवारका पक्षमा लागेर मादल चिन्हमा मत माग्दै हिँडेका रावल त्यसको ३० वर्षपछि सूर्य चिन्हमा आफ्नै लागि मत माग्दै हुनुहुन्छ । २०४५ सालमा अखिल एकता पाँचौंको अन्नपूर्ण मावि प्रारम्भिक कमिटीको सचिव भएका रावल २०४६ सालमा अनेरास्ववियूको जिल्ला कमिटी सदस्य हुनुभयो । कालागाउँमा गाउँ पञ्चायतको भवन तोड्ने नेतृत्व गरेपछि उहाँ विरुद्ध आफ्नै शिक्षकले मुद्दा हाले । तर बहुदल आएपछि उहाँविरुद्धको मुद्दा खारेज भएको थियो । पछि क्याम्पसमा पढ्दा पार्टीले स्ववियु सभापतिको उम्मेदवार बनाए पनि प्रगतिशील प्यानल बनाएर सचिवमा उम्मेदवार भएका रावल नेविसंघसँग पराजित हुनुभयो । २०४९ सालमा अनेरास्ववियूको उपाध्यक्ष भएका रावल पार्टी विभाजनपछि सेतीको अखिल इन्चार्ज हुनुभएको थियो । त्यसपछि अखिलको क्षेत्रीय प्रमुख, केन्द्रीय सदस्य हुँदै विभिन्न विभागमा काम गरेका रावल १८ औं महाधिवेशनमा अखिल उपाध्यक्षको उम्मेदवार हुनुभयो । तर रामकुमारी झाँक्रीसँग पराजित हुनुभयो । त्यसपछि अखिलको राजनीति छाडेर उहाँ युवा संघको सदस्य हुनुभयो । दुई कार्यकाल युवा संघको उपाध्यक्ष भएका रावलले महेश बस्नेतसँगै राजीनामा दिनुभयो । युवासंघबाट राजीनामा दिएका रावललाई पार्टीले केन्द्रीय सदस्यमा मनोनित मात्रै गरेन, कैलाली जिल्लाको इचार्ज समेत बनायो । संसदीय चुनावमा उहाँको यो पहिलो प्रतिस्पर्धा हो ।
थप उम्मेद्‌वारहरू