उम्मेदवार
नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा प्रदेश नम्बर ७ का संयोजक लेखराज भट्टको जन्म २०१६ साल चैत्र ११ गते गडसेरा–९, डोटीमा भएको हो । दशरथ र दुर्गादेवी भट्टका छोरा लेखराजले स्नातकसम्मको अध्ययन गर्नुभएको छ । २०३० सालदेखि राजनीतिमा लागेका प्रचण्ड नेतृत्वको सरकारमा श्रम मन्त्री तथा तत्कालीन माओवादीका नेता डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा बाणिज्य तथा आपूर्ति मन्त्री भएर काम गर्नुभएको थियो । २०३३ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका लेखराज २०३६ सालमा मोहन विक्रम सिंहले नेतृत्व गरेको नेकपा चौथो महाधिवेशनमा लाग्नुभयो । उहाँ विभिन्न समयमा नेकपा मशाल, नेकपा (एकता केन्द्र) हुँदै नेकपा (माओवादी) मा प्रवेश गर्नुभएको थियो । २०५१ सालमा तत्कालीन नेकपा माओवादीको पूर्णकालीन सदस्य भएका भट्ट वि.सं २०५७ सालमा केन्द्रीय सदस्य हुँदै पोलिटब्यूरो सदस्य बन्नुभयो । तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको सशस्त्र विद्रोहका समयमा उहाँ ६ महिना जेल पर्नु भएको थियो । २०६४ सालको संविधानसभा चुनावमा भट्ट कैलाली क्षेत्र नम्बर ५ बाट १७ हजार ९ सय ७९ मत ल्याएर विजयी हुनुभएको थियो । तर २०७० सालको चुनावमा भने यसै क्षेत्रमा पराजित हुनु प¥यो ।
थप उम्मेद्‌वारहरू