उम्मेदवार
शेषनाथ अधिकारी नेपाली कांग्रेस

शेषनाथ अधिकारीको जन्म वि.सं. २००१ साल चैत २७ गते धादिङको जोगीमारा ७ मा भएको हो । उहाँका बुबाको नाम उमानाथ अधिकारी र आमाको नाम नन्दकुमारी अधिकारी हो । उहाँका २ छोरा छन् । उहाँले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।

२०२१ र २२ सालमा अध्ययनका लागि बनारस पुगेका अधिकारीले त्यही प्रजातन्त्रवादी विद्यार्थी समूहमार्फत राजनीतिक यात्रा सुरु गर्नुभएको हो । 

हाल नेपाली कांग्रेसको महासमिति सदस्य रहेका अधिकारीले २०५९ देखि ०६२ सम्म नेपाली कांग्रेस, चितवनको जिल्ला सभापति भएर काम गर्नुभयो । २०२७ र २८ सालमा नेपाल विद्यार्थी संघको तत्कालिन पश्चिम १ नम्बर क्षेत्रका अध्यक्ष रहेका अधिकारीले २०२९ सालदेखि नेपाली कांग्रेसको सक्रिय सदस्यका रुपमा काम गरिरहनु भएको छ ।

२०४८ सालको संसदीय चुनावमा पराजित भएपनि उहाँले पेश्की फछर्यौट आयोगको सदस्यका रुपमा काम गर्नुभएको थियो ।

बनारसमा अध्ययनकै क्रममा विपी कोइरालासँग नजिक रहेर काम गरेका अधिकारीले बनारसमै छात्र प्रवाह र नयाँ पाइला पत्रिकाको सम्पादन पनि गर्नुभएको थियो । तत्कालिन राजा वीरेन्द्रको राज्यभिषेक बिथोल्न हातहतियार ल्याएको अभियोगमा राजकाज मुद्दा खेपेका अधिकारीले ८ वर्ष जेल जीवन बिताउनुभएको छ । उहाँ गत संविधानसभा चुनावमा नेपाली कांग्रेसका तर्फबाट समानुपातिक समूहमा उम्मेदवार हुनुहुन्थ्यो । २०७० सालको चुनावमा भने उहाँ चितवन २ बाट प्रत्यक्ष निर्वाचित हुनुभएको थियो । उहाँ २०७४ सालमा शिक्षा राज्यमन्त्री बन्नुभएको छ ।

थप उम्मेद्‌वारहरू