उम्मेदवार

२०४८ सालदेखि निरन्तर संसदीय चुनावमा उम्मेदवार बन्दै आएका राजेन्द्रप्रसाद पाण्ड यसपटक प्रदेशसभाको तर्फबाट उम्मेदवार बन्नुभएको छ । नेकपा एमालेका पोलिटब्युरो सदस्य समेत रहेका पाण्डको जन्म २०१३ साल जेठ २९ गते धादिङको गजुरी गाविस ८ मा भएको हो ।

त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा एमए गरेका पाण्डे २०३४ सालदेखि २०४२ सालसम्म शिक्षण पेशामा संलग्न हुनुहुन्थ्यो । २०३२ सालदेखि राजनीतिमा सक्रिय भएका पाण्डे २०३३ सालमा भ्याली अर्गनाईजेशन कमिटीमा आवद्ध हुनुभयो । २०३३ सालमा केन्द्रीय कारागारमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका पाण्डेले २०३४ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनको संस्थापक सहित दुई कार्यकाल धादिङ जिल्ला अध्यक्ष भएर काम गर्नुभयो ।

२०३६ साल कात्तिकमा जिल्लामा पार्टी स्थापना गरेर उहाँले ८ वर्षसम्म सचिव पदमा काम गर्नुभयो ।

पाण्डे २०५० देखि ०५६ सालसम्म नेकपा एमाले वागमती अञ्चल सचिव, २०५५ सालमा पार्टी केन्द्रीय सदस्य, २०६५ सालदेखि पोलिटव्युरो सदस्य हुनुहुन्छ । २०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा जनपक्षीय उम्मेदवारका रुपमा उठेका पाण्डे पराजित हुनुभएको थियो । २०४४ सालमा भने जनपक्षीय जिल्ला पञ्चायत सभापतिका रुपमा निर्वाचित हुनुभएको थियो ।

पाण्डे प्रतिनिधिसभामा धादिङ क्षेत्र नम्बर ३ बाट २०४८, ०५१ र २०५६ मा विजयी हुनुभएको थियो । २०५१ सालमा प्रतिनिधिसभामा नेकपा एमालेको प्रमुख सचेतक भएका पाण्डे २०६५ साल जेठ ८ देखि चैत १५ गतेसम्म स्थानीय विकास मन्त्री  हुनुभएको थियो । २०६४ सालको संविधानसभा चुनावमा धादिङ क्षेत्र नम्वर ३ बाट पराजित भएका पाण्डे ७० सालको दोस्रो संविधानसभा चुनावमा त्यही क्षेत्रबाट विजयी हुनुभयो ।

 

थप उम्मेद्‌वारहरू