विशेष नाचेकै कारण ४६ सालमा जेल परेका थिए जनार्दन शर्मा
Ujyaalo

काठमाडौं, मंसिर २२ – रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रका जनार्दन शर्मा विजयी हुनुभएको छ । वाम गठबन्धनबाट प्रतिनिधिसभा उम्मेदवार बन्नुभएका शर्मा ३४ हजार ४ सय २ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोलपाजीजंग शाहले १५ हजार ६ सय ५९ मत प्राप्त गर्नुभयो । माओवादीका शर्मा नेपाली कांग्रेसका शाहले भन्दा १८ हजार ७ सय ४३ मत बढी ल्याएर विजयी हुनुभएको हो ।

जनार्दन शर्मा ‘प्रभाकर’को जन्म २०२० साल बैशाख १२ गते रुकुम जिल्लामा भएको हो । स्कन्द शर्मा र नर्मदा शर्माका छोरा जनार्दन शर्माका एक छोरी र एक छोरा छन् । उहाँका बुवा रुकुममा कम्युनिष्ट पार्टीको संस्थापक जिल्ला कमिटी सदस्य हुनुहुन्थ्यो ।

शर्मा २०६४ सालको संविधानसभा चुनावमा रुकुम जिल्लाको क्षेत्र नम्वर २ बाट ३० हजार २ सय ७० मतप्राप्त गरी विजयी हुनुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेमप्रकाश ओली क्षेत्रीले ९ हजार २ सय ५० मत प्राप्त गर्नु भएको थियो ।

२०७० सालको चुनावमा २२ हजार ५ सय ७५ मत ल्याएर यही क्षेत्रबाट विजयी हुनुभयो । राजनीतिशास्त्र र नेपालीमा स्नातक शर्मा २०३६ सालको विद्यार्थी आन्दोलनमार्फत राजनीतिमा सक्रिय हुनुभएको हो । जनमुक्ति सेना नेपालका चारजना डेपुटी कमाण्डरमध्ये एक जनार्दन शर्मा प्रभाकर हाल माओवादीको सचिवालय सदस्य हुनहुन्छ ।

प्लाटुन, बटालियन कमिसार हुँदै डिभिजन कमाण्डर ७ वटा डिभिजन भएपछि प्रभाकर डेपुटी कमाण्डर हुनुभएको थियो । उहाँकी श्रीमती लक्ष्मी पौडेल पनि माओवादीकी राज्यसमितिकी सदस्य हुनुहन्छ । नाच्न गाउन खप्पिस शर्मा २०४६ सालमा नाचगान गरेकै आरोपमा शान्ति सुरक्षा ऐन अन्तर्गत जेलमा थुनिनु भएको थियो ।

शर्मा २०५५ सालमा तत्कालीन नेकपा माओवादीको केन्द्रीय सदस्य बन्नुभएको हो । सशस्त्र बिद्रोहकालमा माओवादी लडाकूका डेपुटी कमाण्डर भएर काम गरेका शर्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का विश्वासपात्र मानिनुहुन्छ ।

प्रचण्ड प्रधानमन्त्री हुँदा उर्जामन्त्री भएका शर्मा देशमा लोडसेडिङ हटाएर थप लोकप्रिय बन्नुभयो । त्यसपछि गृहमन्त्री भएका शर्मा हाल विनाविभागीय मन्त्री हुनुहुन्छ । उहाँ त्यसअघि शान्ति तथा पुनर्निर्माण मन्त्री भएर काम गरिसक्नु भएको छ ।

 

Share It

Post Comments
थप विशेष