विशेष विराटनगरको भोट माग्न धनकुटा-तेह्रथुमको सहारा
Ujyaalo

सुमन तिमल्सिना/उज्यालो


विराटनगर, मंसिर ८ – प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव सँगै भएकोले पनि प्रदेशसभा उम्मेदवारको चर्चा कमै हुने गरेको छ । प्राय उम्मेदवारले चर्चामा आउन नारा लगाउने, भाषण गर्ने विभिन्न उपाय अपनाउँदै आएका छन् । तर मोरङमा यस्ता उम्मेदवार पनि छन्, जो भाषण नगरी धेरै मतदातासम्म पुगिसकेका छन् ।

बुधबार रातिको ९ बजेको थियो । हातमा फोन लिएर तेह्रथुमका आफ्ना मित्रलाई फोनमा भोट माग्दै गरेको अवस्थामा भेटिनुभयो, मोरङ क्षेत्र नं. ४ (ख) का उम्मेदवार जीवन घिमिरे । उहाँले यसरी आफ्नो क्षेत्र बाहिरका आफन्त र साथीलाई भोट माग्न थालेको झण्डै २ दिन नाघिसकेको छ । यसरी बाहिरका साथीहरुसँग भोट माग्दा उहाँले तेह्रथुमका मित्रलाई मात्र फोन गर्नु भएको छैन, धनकुटा, भोजपुर, धरानलगायतका आफन्त तथा जो पार्टीभन्दा बाहिरका साथीहरु छन् ति सबैलाई फोन गरि सकेको उहाँ सुनाउनुहुन्छ ।

घिमिरे भन्नुहुन्छ, उहाँहरु मेरो क्षेत्रको भोटर नभए पनि उहाँका आफन्तहरु कहीँ न कहीँ आफन्तसँग विराटनगरमा जोडिने भएकोले विराटनगरका भन्दा बाहिरको भोट ल्याउन सकिन्छ । विराटनगर महानगरपालिकाको आधा क्षेत्र र कटहरी गाउँपालिकाको वडा नं. १ देखि ३ सम्म पर्ने प्रदेश (ख) को क्षेत्रमा हरेक दिन घरदैलो गर्दै आएको भए पनि यसरी बाहिरको भोट ल्याउन सकिन्छ कि भनेर बाहिरका साथीहरुको सहयोग लिएको र यो एकदमै प्रभावकारी भएको घिमिरे बताउनुहुन्छ । उहाँले भोटको लागि राजनीति शुरु गरेको झापाका धेरै साथीहरुलाई आफ्नो उम्मेदवारीको बारेमा जानकारी गराउँदै विराटनगरमा भएका आफन्तलाई फोन गर्न लगाउनु भएको छ ।

ठूला दलकी एक्ली सारथी महिलाको नारा लाउँदै

कोही बाहिरी जिल्लाका आफन्तलाई फोन गर्न व्यस्त भएर भोट मागिरहेको बेला मोरङ क्षेत्र नम्बर ३ (क) की उम्मेदवार गीता तिम्सीना महिलासँग आफू महिला भएको भन्दै मत माग्दै हुनुहुन्छ । मतदातालाई रिझाउनको लागि उहाँको एउटै नारा छन् । ठूला दल कसैले पनि महिलालाई उम्मेदवार बनाएनन् मलाई जिताएर सहयोग गर्नु पर्‍यो ।


महिलाको बारेमा बोलिदिने कोही नभएको अबस्थामा आफू जितेर गए महिलाको बिषय पहिलो एजेण्डा हुने उहाँको तर्क छ । आदिवासी जनजातीको बाक्लो उपस्थिति रहेको यस क्षेत्रमा शिक्षित मतदाता रहेको बताइन्छ । त्यसैले पनि गीताले आफ्नो एजेण्डा महिलाका मुद्दा बनाएको जानकारहरु बताउँछन् ।


महिला अधिकारकर्मी शिवमाया तुम्बाहाम्फे ठूला दलले महिलालाई उम्मेदवार बनाएर जान नसकेको अबस्थामा उहाँ ठूला दलकी एक्ली उम्मेदवार भएकोले पनि उहाँले उठाएको महिलाको मुद्दा सकारात्मक रहेको बताउनुभयो ।

मोरङ जिल्लामा प्रदेश तर्फ १२ र प्रतिनिधि सभा तर्फ ६ गरी १८ निर्वाचन क्षेत्रको लागि प्रतिस्पर्धा हुँदैछ ।

Share It

Post Comments
थप विशेष