विशेष तत्कालीन राजा ज्ञानेन्द्रको विरोध गर्दा पक्राउ परेका थिए सुनुवार
Ujyaalo

काठमाडौं, मंसिर २३ –२०६४ सालको संविधानसभा चुनावमा पराजित र २०७० सालको दोस्रो संविधानसभामा जित हात पारेका यज्ञराज सुनुवार यसपटक भने प्रनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

नेपाली कांग्रेसका नेता रामहरी खतिवडालाई ५ हजार २ सय ५३ मतले पछि पार्दै सुनुवार विजयी हुनुभएको हो ।सुनुवारले ३२ हजार ५ सय ८० मत पाउनुभयो । उहाँका निकटतम प्रतिस्र्र्धी खतिवडाले २७ हजार ३ सय २७ मत पाउनु भएको छ । २०७० सालको चुनावमा सुनुवार र खतिवडा एक एक क्षेत्रमा विजयी हुनु भएको थियो । तर अहिले एउटामात्रै क्षेत्र भएकाले दुईबीच प्रतिस्पर्धा भएको हो ।

२०२९ साल कात्तिक ३ गते ओखलढुङ्गाको श्रीचौर २ लिस्पुमा जन्मिएका सुनुवारले २०४५ सालदेखि अनेरस्ववियुबाट राजनीति सुरु गर्नुभएको हो ।

उहाँ २०४६ सालमा भएको जनआन्दोलनताका संयुक्त वाम मोर्चा ओखलढुङ्गाको इलाका सचिव हुनुहुन्थ्यो ।
२०५३ सालमा रत्नराज्यलक्ष्मी क्याम्पस काठमाडौंमा स्ववियू सभापति रहेका सुनुवार २०५७ सालमा महेन्द्ररत्न क्याम्पस ताहचलको पनि स्ववियू सभापति हुनुभयो ।

२०५७ सालदेखि २०६० सालसम्म त्रिवि परिषदको सभाषद रहेका सुनुवार २०५८ देखि २०६० सालसम्म स्ववियू काउन्सिलको पनि संयोजक हुनुहुन्थ्यो । उहाँले राजनीति शास्त्रमा स्नातकोत्तर उत्तीर्ण गर्नुभएको छ ।

२०६१ माघ १९ मा काठमाडौंमा तत्कालीन राजा ज्ञानेन्द्रको कदमको विरोध गर्दा पक्राउ परेका सुनुवार २०६२ साल वैशाखमा रिहा हुनुभएको थियो ।

 

Share It

Post Comments
थप विशेष