विशेष पशुपति शमशेरलाई हराउने शेरबहादुर को हुन् ?
Ujyaalo

सिन्धुपाल्चोक, मंसिर २३ –सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेकपा एमालेका नेता शेरबहादुर तामाङ विजयी हुनुभएको छ । उहाँले ३८४०१ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेरले ३०३६९ मत प्राप्त गरेका थिए । तामाङले पशुपति शमशेरलाई ७७३२ मतले हराउनुभएको छ ।

२०६४ सालको पहिलो संविधानसभामा पराजित र ०७० सालको दोस्रो संविधानसभा चुनावमा विजयी शेरबहादुर तामाङ नेकपा एमालेको केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँ २०२५ साल चैत १ गते सिन्धुपाल्चोकको सिन्धुकोटमा जन्मिनुभएको हो ।

मानवशात्र, समाजशात्र र इतिहासमा स्नातकोत्तर गरेका तामाङले कानून विषयमा पनि स्नातकोत्तर पास गर्नुभएको छ । तामाङले २०३६ सालमा सरस्वती मावि ग्याल्थुममा तत्कालीन नेकपा मालेको विद्यार्थी संगठन अनेरास्ववियु पाँचौको प्रारम्भिक कमिटीमा बसेर राजनीति सुरु गर्नुभएको हो ।

उहाँ ०४० सालमा अनेरास्ववियूको जिल्ला अध्यक्ष, २०४१ सालमा सेल कमिटी, २०४२ सालमा पाटीको सहयोग समूह, २०४७ सालमा तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको केन्द्रीय सदस्य हुनुभयो ।

२०५१ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको सचिव, २०५४ सालमा महासचिव, २०५९ सालमा उपाध्यक्ष भएर काम गरेका तामाङ २०५४ सालमा नेकपा एमाले जिल्ला सचिव बन्नुभयो ।

२०५९ सालमा नेकपा एमाले बागमती अञ्चल सदस्य बनेका तामाङ अहिले एमालेको केन्द्रीय सदस्य हुनुहुन्छ ।

२०६४ सालको संविधानसभा चुनावमा पराजित भएका तामाङ २०७० सालको चुनावमा भने विजयी हुनुभयो । तामाङले २०६३ सालमा गुम्बा विकास समिति सदस्य सचिव भएर पनि काम गर्नुभएको थियो ।

Share It

Post Comments
थप विशेष