विशेष प्रदेश नम्बर १ मा कांग्रेसका मिनेन्द्र र ज्ञानेन्द्र ?
Ujyaalo

काठमाडौं, मंसिर २३ – मतगणना निख्रिने चरणमा पुग्दा बल्ल जीतको खाता खोलेको कांग्रेसले प्रदेश नम्बर १ मा अर्को सिट थप्न कतिबेर कुर्नुपर्ने हो थाहा छैन । त्यसो त सिट थप्छ नै भन्ने टुंगो पनि छैन । देशभरि नै खराब ओपनिङ गरेको कांग्रेसका लागि प्रदेश नम्बर १ को समग्र नतिजा पनि निराशाजनक हुने देखिएको छ ।

सुनसरीका २ क्षेत्रमा लिइरहेको अग्रता तथा संखुवासभा र उदयपुर १ मा नजिकबाट पछ्याइरहेको अवस्था नै कांग्रेसका लागि प्रदेश नम्बर १ मा चित्त बुझाउने बाटो बनिरहेको छ ।

सुनसरी–४ मा शुरुदेखि अहिलेसम्मको मतको ट्रेण्ड हेर्दा ज्ञानेन्द्रवहादुर कार्की कांग्रेसका अरु उम्मेदवारभन्दा केही सहज अवस्थामा देखिन्छन् । यद्यपि, गणना अझै धेरै बाँकी नै छ । सुनसरीकै २ नम्बरमा सिताराम मेहताले पनि विस्तारै अवस्था सुधार गर्दै लगेका छन् ।

उदयपुरमा बेलाबेला झिनो अग्रता लिएपनि डाक्टर नारायण खड्का वाम गठबन्धनकी मञ्जु चौधरीसंग नेक टू नेक प्रतिस्पर्धामा रहेकाले यसै भन्न सकिने अवस्था छैन । संखुवासभामा दिपक खड्काले एमाले उम्मेदवारलाई बलियो टक्कर दिइरहनुभएको छ ।

मोरङमा कांग्रेसका हस्ति मानिने महेश आचार्य, शेखर कोइराला, अमृत अर्याल र डिकबहादुर लिम्बु हारिसकेका छन् । सँधै जितको बानी लागेका र फोरम लोकतान्त्रिकका तर्फबाट मात्रै पनि जित्ने गरेकाले रुख चिन्हबाट त कसो नजित्लान भनिएका विजयकुमार गच्छदारको अवस्था पनि खराब छ ।

झापामा कृष्णप्रसाद सिटौला र युवा पुस्तामा धेरैको मन जितेको ठानिएका विश्वप्रकाश शर्मालेपनि विपक्षीलाई भेट्टाउनै सकेका छैनन् । झापाका अरु क्षेत्रमा कांग्रेसका उम्मेदवारल जित्ने सम्भावना त छ तर त्यो भन्दा धेरै सम्भावना नजित्ने छ ।

तेह्रथुममा सीता गुरुङले भवानीप्रसाद खापुङलाई उछिनेर अघि लाग्न सक्नुभएको छैन ।

ताप्लेजुङ र पाँचथरमा एमालेले विजयको झण्डा फहराइसकेको छ भने धनकुटाको प्रतिनिधिसभातर्फ कांग्रेसले उम्मेदवार नै उठाएको छैन ।

Share It

Post Comments
थप विशेष