विशेष रुपन्देहीको सबै क्षेत्रको नतिजा आयो, को कहाँ ?
Ujyaalo

भवानीप्रसाद पाण्डे/उज्यालो ।

रुपन्देही, मंसिर २४ –पाँच प्रतिनिधिसभा र १० प्रदेश सभा रहेको रुपन्देहीमा सबै क्षेत्रको नतिजा घोषणा भएको छ । घोषित परिणाम अनुसार वामगठबन्धन पहिलो हुने निर्वाचित हुने प्रणालीमा पहिलो बनेको छ ।

गठबन्धनले प्रतिनिधिसभा तर्फ ३ र प्रदेश सभा तर्फ ६ स्थानमा जित हात पारेको हो । लोकतान्त्रिक गठबन्धनले प्रतिनिधिसभातर्फ २ र प्रदेशसभातर्फ ३ स्थानमा जित हात पारेको छ । निर्वाचन कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीको क्षेत्र नम्बर १ मा एमालेका छविलाल विश्वकर्मा ३४ हजार ७५२ मत ल्याएर निर्वाचित हुनुभयो । उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अब्दुल रज्जाकले २६ हजार ८८५ मत ल्याउनु भयो । २०७० सालको चुनावमा आफैले पराजित गरेका बिकसंग रज्जाक यो चुनावमा पराजित हुनुभयो ।

प्रदेशसभा क मा एमालेका कृष्ण न्यौपाने १९ हजार ५२० ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका ताहिर अलीले १३ हजार १४१ मत ल्याउनु भयो । प्रदेशसभा ख तर्फ माओवादी केन्द्रका दधिराम न्यौपाने विजयी हुनु भएको छ । उहाँले १३ हजार ९४ मत ल्याउनु भयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरि न्यौपानेले ११ हजार १०८ मत ल्याउनु भयो ।

प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर २ मा एमालेका विष्णु पौडेल ४४ हजार ९ मत ल्याएर विजयी हुनु भएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका युवराज गिरीले २१ हजार ९४६ मत ल्याउनु भएको छ । पौडेलको यो लगातार तेश्रो जित हो । प्रदेश सभा २ ‘क’ तर्फ एमालेका लिला गिरी २१ हजार ७३४ मत प्राप्त गरी विजयी हुनु भएको छ । नेपाली कांग्रेसका काजिमान श्रेष्ठले ९ हजार ७७८ मत ल्याउनु भयो । प्रदेशसभा २‘ख’ तर्फ एमालेका भोजप्रसाद श्रेष्ठ २१ हजार १३७ मत ल्याएर विजयी हुनुभएको छ । नेपाली कांग्रेसका महेशमान सिंहले १२ हजार ५६८ मत ल्याउनु भएको छ ।

रुपन्देहीको क्षेत्र नम्बर ३ मा वाम गठबन्धनका घनश्याम भुसाले ३२ हजार ८६६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका दिपक बोहोराले २७ हजार ४२२ मत प्राप्त गनुभयो । प्रदेशसभातर्फ ३‘क’ मा संघीय समाजवादी फोरमका सन्तोष पाण्डेले ११ हजार ४७७ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा नेपाली कांग्रेसका देवी चौधरीले १० हजार ३२८ मत प्राप्त गर्नुभएको छ । प्रदेशसभा ३‘ख’ तर्फ एमालेका तुलसी चौधरीले १८ हजार ६१५ मत ल्याउदा नेपाली कांग्रेसका हरिध्वज मल्लले १६ हजार ७९३ मत ल्याउनु भएको छ ।

क्षेत्र नम्बर ४ तर्फ नेपाली कांग्रेसका प्रमोद यादवले ३१ हजार ७१८ मत ल्याउनु भएको छ । उहाँका प्रतिस्पर्धी राजपाका सर्बेन्द्रनाथ सुक्लाले २० हजार ४१६ मत ल्याउनु भयो । प्रदेशसभा ४‘क’ तर्फ नेपाली कांग्रेसका अष्टभुजा पाठक ९ हजार ६४ मत ल्याएर विजयी हुनु भएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी राजपाका हजरत अलिले ४ हजार ६३४ मत ल्याउनु भयो । प्रदेशसभा ४ ‘ख’ तर्फ १२ हजार ११३ मत ल्याएर नेपाली कांग्रेसका वसिउद्धिन खान विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार विरेन्द्र कलवारले ५ हजार ७६१ मत ल्याउनु भएको छ ।

रुपन्देहीको क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका भरत साह विजयी हुनुभएको छ । उहाँले ३३ हजार ८८ मत प्राप्त गर्नुभयो । उहाँका निकटकम प्रतिस्पर्धी वाम गठबन्धनका माओवादी उम्मेदवार डिलाराम आचार्यले २० हजार ४३८ मत प्राप्त गर्नुभयो । यो क्षेत्रमा वाम गठबन्धनका उम्मेदबार मध्ये देशैभर सबैभन्दा बढी १२ हजार ६५० मतको अन्तरमा पराजित भए । साहको यो लगातार दोश्रो जित हो । यसै क्षेत्रको प्रदेशसभा ५ ‘क’ तर्फ एमालेका भुमिश्वर ढकाल २२ हजार २५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका बिष्णु पोखरेलले १५ हजार ४१६ मत ल्याउनु भयो ।

त्यस्तै प्रदेशसभा ५ ‘ख’ तर्फ नेपाली कांग्रेसका फकरुद्धिन खान १६ हजार ६८३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिस्पर्धी संघीय समाजवादी फोरमका रमाउती यादवले ९ हजार २५० मत प्राप्त गर्नुभयो ।

Share It

Post Comments
थप विशेष