विशेष बैतडीमा ११४ वर्षीया महिलाले गरिन् मतदान
Ujyaalo

बैतडी, मंसिर १० –पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा बैतडीमा उत्साहपूर्ण सहभागितामा मतदान भैरहेको छ । बैतडीका १ सय ८२ वटै मतदान केन्द्रमा बिहान ७ बजेदेखि नै मतदाताको लाइन लागेको छ । अहिलेसम्म शान्तिपूर्ण तरिकाले मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।

आपूर्तिमन्त्री एवं राप्रपाका महामन्त्री जयन्तबहादुर चन्दले बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर २ बाट मतदान गर्नुभएको छ । बिहान ८ बजे बासुदेव मावि लिस्कीटा मतदान केन्द्रबाट उहाँले मतदान गर्नु भएको हो । मन्त्री चन्द बैतडीबाट राप्रपाका समानुपातिक सदस्य हुनुहुन्छ । यस्तै बैतडीमा बाणिज्य राज्यमन्त्री तथा लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार नरबहादुर चन्दले बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ३ मा रहेको निलपाल निमावि थानचौरबाट मतदान गर्नु भएको छ भने पूर्व अर्थराज्यमन्त्री दामोदर भण्डारीले पाटन नगरपालिकाको कृष्ण उमाविबाट मतदान गर्नु भएको छ । यस्तै प्रदेशसभाका उम्मेदवार लिलाधर भट्टले दोगडाकेदार गाउँपालिकाको पिपिलकोट माविबाट मतदान गर्नुभएको छ ।

बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर ८ बाट १ सय १४ वर्षीया बृद्धा पशुपति साउदले मतदान गर्नुभयो । उहाँले ढोल्या मतदानकेन्द्रबाट बिहान साढे सात बजे मतदान गर्नुभएको हो ।

यस्तै बैतडीको सुर्नया गाउँपालिका भुमेश्वर माविबाट ९० वर्षका गगन सिंह कुवरले मतदान गर्नुभएको अर्जुनसिंह कुवरले जानकारी दिनुभयो । बैतडीमा छिटफुट घटनाबाहेक बैतडीमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

Share It

Post Comments
थप विशेष