विशेष उत्साहका साथ मतदान गर्दै लमजुङका युवाले भने, ‘अब खाडी जान नपरोस्’
Ujyaalo

श्यामशितल परियार/उज्यालो ।

लमजुङ, मंसिर १०– ‘चुनावमा कसलाई जिताएर पो के हुन्छ र ! आफ्नो दुःख आफैँसँग, यहाँ पढेर पनि राम्रो काम पाईने होइन, राम्रो ठाउँमा पहुँच हुनेकै हालीमुहाली हुन्छ, हामी सोझासाझा जनताका छोराछोरी ऋण गरी पढ्यो, फेरि ऋण गररै विदेश भासियो, कस्लाई किन भोट हाल्नु,’ यस्तै सोचेर चुनावका बेला भोट हाल्न युवाहरु खासै उत्साहित हुन्थेनन् ।

तर यसपालाको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा मतदान गर्नका लागि लमजुङका विभिन्न मतदान केन्द्रहरुमा युवायुवतीको घुइँचो लागेको छ । उनीहरु उत्साहित पनि छन् । मतदान गर्न आतुर देखिन्छन् । मतदान गर्न पालो पर्खेर बसेका छन् ।

निकै उत्साहका साथ मतदान गर्न आएका यहाँका युवाहरुले दल तथा उम्मेदवारहरुसँग ठूलो आशा राखेका छन् । उनीहरुले अब त पक्कै गाउँठाउँका युवाको हकहितमा पनि काम गर्लान् भन्ने भरोसा गरेका छन् ।

‘उत्साहका साथ मतदान गरेँ,’ लमजुङ सुन्दरबजार नगरपालिका ९ स्थित भविष्य निर्माण मावि मतदान केन्द्रमा भोट खसालेका स्थानीय अमृत भुजेलले भन्नुभयो, ‘भोट हाल्यौँ, अब चुनाव जित्नेले जनतालाई भुल्नु हुँदैन, नाना, माना, र छानाका लागि अब खाडी जानु नपरोस्, युवालाई देशमै रोजगारीको सिर्जना गरियोस् ।’

चुनाव जितेर जानेले जिल्लाको विकास र समृद्धिमा हातेमालो गरी जिल्लामै रोजगारीको सिर्जना गरिनु आवश्यक रहेको भक्ति नमूना मावि केन्द्रमा भोट हालेका भोटेओडारका निर्मल अधिकारीले बताउनुभयो । चुनावले उत्साह जगाएको र चुनावपछि जित्नेले युवाको हकहितमा काम गर्छन् भन्ने आशा छ, स्थानीय पदम भुजेलले बताउनुभयो ।

Share It

Post Comments
थप विशेष