विशेष दलहरुको नरम नीतिका कारण हिंसात्मक घटना बढ्यो : आयोग
Ujyaalo

काठमाडौं, मंसिर १५ – निर्वाचन आयोगले उम्मेदवारमाथि आक्रमण गर्ने र विष्फोट गराउने समूहप्रति राजनीतिक दलहरुले नरम नीति लिएका कारण घटना बढेको ठहर गरेको छ ।

चुनाव होमिएका ठूला राजनीतिक दलहरुले विष्फोट गराउने समूहसँग भन्दा पनि सुरक्षा निकायसँग आक्रोश पोखेको भन्दै आयोगले असन्तुष्टि जनाएको छ । आयोग र सुरक्षा निकायबीच शुक्रबार भएको छलफलपछि सुरक्षा तथा आचारसंहिता हेर्ने जिम्मेवारी पाउनु भएका आयुक्त सुधीरकुमार शाहले सुरक्षाकर्मीमाथि गुनासो गर्नुभन्दा विष्फोट गराउने समूहप्रति आक्रामक हुन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘सुरक्षा निकायसँग भन्दा पनि दलहरुले घटना संलग्न समूहप्रति रक्षात्मक नीति अपनाउन समस्या बढेको हो ।

सुरक्षा निकायले हरसंभव उपाय अपनाएको जानकारी मैले पाएको छु ।’ दलहरुको यस्तो नीतिलाई आयोगले ‘दुःखद’ भनेर टिप्पणी गरेको छ । गृह र रक्षा मन्त्रालयका सचिवसहित चारवटै सुरक्षा निकायका प्रमुखले आयोगलाई सुरक्षा अवस्थाबारे जानकारी दिएको आयुक्त शाहले जानकारी दिनुभयो । उहाँले संभावित घटनाबारे दलहरुले सुरक्षा निकायलाई जानकारी गराउन पनि आग्रह गर्नुभयो । पहिलो चरणको चुनाव अघिदेखि नै नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले उम्मेदवार लक्षित बम विष्फोट गराएको सरकारको अनुमान छ । यद्यपी विप्लव नेतृत्वको नेकपाले औपचारिक रुपमा बम विष्फोटका घटनाको अहिलेसम्म जिम्मेवारी लिएको छैन ।

यसैबिच, चुनावमा आचारसंहिता पालना भए नभएको अनुगमन गर्न निर्वाचन आयोगले आजदेखि सुक्ष्म अनुगमनकर्ता खटिएका छन् । आयोगले ८८ जना उपसचिवस्तरका कर्मचारीलाई शुक्ष्म अनुगमनका लागि खटाएको हो । उनीहरुले चुनावमा आचारसंहिता पालना नभएको भेट्टाए तुरुन्तै निर्वाचन आयोगलाई जानकारी गराउने र आयोगले कारबाही गर्ने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

पहिलो चरणको चुनावमा धेरै ठाउँमा आचारसंहिता पालना नगरेको गुनासो बढेपछि दोस्रो चरणको चुनावमा शुक्ष्म अनुमगन गर्न लागिएको पनि उहाँले बताउनुभयो । आउँदो २१ गते ४५ जिल्लाका प्रतिनिधिसभाका १ सय २८ र प्रदेशसभाका २ सय ५६ निर्वाचन क्षेत्रमा दोश्रो चरणको चुनाव हुँदैछ ।

Share It

Post Comments
थप विशेष