विशेष ‘मृत्यु भएका १७ र विदेश गएका २२ जनाले भोट हाले’
Ujyaalo

सीताराम अधिकारी/उज्यालो । 

धादिङ, मंसिर १६ – धादिङको रुबीभ्याली गाउँपालिका–४ बोरोङका उत्तम तामाङ अहेव हुनुहुन्छ । उहाँलाई मंसिर १० गते भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको पहिलो चरणमा सरकारले कर्मचारीको रुपमा तिप्लिङमा खटाएको थियो । उहाँ चुनाव गराउन जानुभयो ।

मंसिर १० गते तिप्लिङमा चुनाव गराइरहँदा उहाँको नाममा मुक्रावदेवी मावि मतदान केन्द्रबाट भोट खस्यो । अफ्नो नाममा भोट खसेको तामाङलाई जानकारी छैन । 

२०७२ वैशाख १२ मा भूकम्पबाट ज्यान गुमाएका ६ जनाले यो चुनावमा भोट हाले । रुबीभ्याली गाउँपालिका–४ को मुक्रावदेवी मतदान केन्द्रको यो दृश्य सबैलाई अनौठो लाग्न सक्छ तर निधन भइसकेका मानसिं तामाङ, मेतुङ तामाङ, मैना वि.क, दुर्गाबहादुर तामाङले यो चुनावमा भोट खसाले । राप्रपाका समानुपातिक उम्मेदवार बनेका बुद्धिमान तामाङको मतदान केन्द्र रहेको यो केन्द्रमा ९९ दशमलव २६ प्रतिशत मतदान भएको तथ्याङ्क सार्वजनिक भएको छ । 

दुई वर्षदेखि मलेसियामा रहेका सिंह तामाङको मतदाता सूचिमा नाम छ । उहाँले पनि मतदान गरेको देखिएको छ । यसैगरी ३ महिनाअघि वैदेशिक रोजगारीको शिलशिलामा बाहिर गएका जयलाल तामाङको नाममा पनि मत खसेको छ । 

त्यस्तै आत्महत्या गरेकी कृति तामाङ, कालगतिले निधन भएका कूलमान तामाङले समेत भोट हालेको मतपेटिका जिल्ला समन्वय समितिको कार्यालयमा राखिएको छ । मतदाताले भोटहाल्न नपाएको र ज्यान जोगाउन नपाएको अवस्थामा राजनीतिक दलका प्रतिनिधिहरुले हालेको भोटको सुरक्षा गर्नुलाई स्वच्छ मतदान भएको भन्न नमिल्ने तिप्लिङका चन्द्र तामाङको भनाई छ । उहाँमाथि मतदान केन्द्रमा जान लाग्दा आक्रमण भएको थियो । 

धादिङको क्षेत्र नं. २ प्रदेशसभा ख मा वाम गठबन्धनका उम्मेदवार जगत सिंखडाले निधन भएका १७ जना, विदेश गएका २२ जनाले भोट हालेको यो मतदान केन्द्रमा मतदाताले भोट दिन नपाएकोले फेरि मतदान हुनु पर्ने बताउनु भएको छ ।

‘भूकम्पले विस्थापित भएकाहरु गाउँ आउन सकेका छैनन् । सबै भोट एक दुई जनाले हालेको यो मतदान केन्द्रमा नागरिकले नै भोट हाल्ने वातावरणमा चुनाव गराउन पटक पटक माग गरेको भए पनि सुुनुवाइ नहुँदा यस्तो स्थिति आएको छ’  वाम गठबन्धनका समानुपातिक उम्मेद्वार कान्छा लामाले भन्नुभयो । 

मुक्रावदेवीमा मात्र होइन रुबीभ्याली गाउँपालिका  जुमलाप्दुङ खेलमैदान मतदान केन्द्रमा ९ सय ३५ मतदाता रहेकोमा ९ सय ५ मत खसेको देखिन्छ । 

२ लाख ३३ हजार ५ सय ५ मतदाता रहेको धादिङ जिल्लामा १ लाख ५६ हजार ३ सय ८५ जनाले अर्थात ६६ दशमलव ९७ प्रतिशतले मतदान गरेका छन् । 

२ सय ७५ मतदान केन्द्र रहेको यो जिल्लामा ८० प्रतिशतभन्दा बढी मतदान भएका १० मतदान केन्द्र छन् । जुन उत्तरी धादिङको विकटका ९ केन्द्र मा पर्छन् भने भने एउटा नीलकण्ठ नगरपालिका भित्र पर्छ ।  ६० प्रतिशतभन्दा कम मत खसेको ३९ मतदान केन्द्रहरु छन् जो सुगम  र शहरी क्षेत्रका छन् । 

 

Share It

Post Comments
थप विशेष