विशेष आवश्यक परे लठ्ठीदेखि गोलीसम्म चलाउन प्रहरी प्रमुख अर्यालको निर्देशन
Ujyaalo

दाङ, मंसिर १८ – मंसिर २१ गते हुने चुनावका लागि सुरक्षा प्रबन्धलाई प्रभावकारी बनाउन सुरक्षा निकायका प्रमुखले दाङका सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन् ।

गृह सचीव, नेपाल प्रहरी, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रमुख र नेपाली सेनाका उपरथी सोमबार दाङमा आई सुरक्षा निकायका प्रमुखलाई भरपर्दो सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएका हुन् ।

चुनाव बिथोल्ने आपराधिक गतिविधि जारी रहँदा सुरक्षा निकायका प्रमुख आएर दाङको सुरक्षा अवस्थाका बारेमा जानकारी लिएका हुन् । गृह मन्त्रालयका सचीब मोहन सापकोटा, नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिपकुमार रेग्मी र नेपाली सेनाका उपरथी शरद गिरी सहितको सुरक्षा निकायका प्रमुखले दाङको सुरक्षा अवस्थाका बारेमा जानकारी लिएका हुन् ।

केही दिन अगाडि प्रधानमन्त्री शेरबहादुर देउवा दाङ आएको बेला भएको बम विष्फोट र उम्मेदवारलाई लक्षीत गरि भैरहेका बम विष्फोटका घटनाका बारेमा बुझ्दै सुरक्षा निकायका प्रमुखले आवश्यक सुरक्षा सतर्कता बढाउन निर्देशन दिएका हुन् ।

गृह सचीब सापकोटाले आममतदाता र उम्मेदवारको पूर्णसुरक्षाको जिम्मा लिंदै अपराधमा संलग्न कुनै पनि समुह वा व्यक्तिलाई कानुनी दायरामा ल्याउन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभयो । चुनाव बिथोल्ने र अपराधीक कार्यमा संलग्न जो कोहीलाई तत्काल पक्राउ गरेर सम्भावित घटना हुन नदिन उहाँले सचेत गराउनुभएको छ ।

नेपाल प्रहरीका प्रमुख प्रकाश अर्यालले भरपर्दो सुरक्षा व्यवस्था मिलाउन र चुनावलाई शान्तिपूर्ण बनाउने गरी सुरक्षाको व्यवस्था मिलाउन निर्देशन दिनुभयो । अपराधका घटनामा शून्य सहनशिलता अपनाउँदै आवश्यक परे लठ्ठी देखि गोली समेत चलाउन निर्देशन दिनुभएको हो ।

नेपाली सेनाको हेलिकप्टरबाट आएका सुरक्षा निकायका प्रमुखहरुले सेनाको रिपूमर्दन गणमा सुरक्षा अबस्थाका बारेमा जानकारी लिदै सुढृढ शान्ति सुरक्षाका लागि आबस्यक निर्देशन दिएका हुन् ।

चुनावलाई भयरहित, स्वतन्त्र, सुरक्षित र मर्यादित बनाउन जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिदै मतदाता, उम्मेदवार र चुनाव सामाग्रीको सुरक्षामा जिम्मेवार बन्न समेत सुझाब दिएका छन् ।

मंसिर २१ गतेको निर्बाचनलाई सुरक्षित बनाउने जिम्मेवारी जिल्लाका सुरक्षा निकायको भएको भन्दै प्रमुखहरुले कुनै पनि अपराधीक कार्यलाई निरुत्साही गर्न निर्देशन दिएका हुन् । मंसिर २१ गतेको चुनावका लागि दाङमा ४ हजार १ सय बढी सुरक्षाकर्मीहरु परिचालन भएका छन् ।

 

Share It

Post Comments
थप विशेष