विशेष सुरक्षा व्यवस्था प्रभावकारी भएको सरकारको दावी
Ujyaalo

काठमाडौं, मंसिर २० – सरकारले प्रतिनिधि र प्रदेश सभा चुनावको सबै सुरक्षा व्यवस्था प्रभावकारी र भरपर्दो भएको दावी गरेको छ ।

चुनावका लागि सुरक्षा व्यवस्था पुरा भएको र निर्धक्क भएर भोट हाल्न गृह मन्त्रालयले आग्रह गरेको समेत गरेको छ । बिहीबार चुनावमा सेना, प्रहरी, म्यादी प्रहरी तथा अनुसन्धानका कर्मचारी गरेर २ लाख सुरक्षाकर्मी परिचालन भएका गृह मन्त्रालयले जनाएको छ ।

कुनै पनि घटना भए १० देखि ३० मिनेटभित्र सुरक्षाकर्मी पुग्नेगरी सुरक्षा व्यवस्था मिलाइएको गृहले जनाएको छ । केन्द्रिय सुरक्षा कमिटिको निर्णय अनुसार चुनावको सुरक्षाका लागि निरोधात्मक र प्रतिरोधात्मक दुवै संयन्त्र परिचालन गरिएको गृहमन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले जानकारी दिनुभयो ।

गृह सचिव सापकोटाले पत्रकार सम्मेलन गर्दै चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबै तयारी पूरा भएको जानकारी दिनुभयो ।

उहाँले डर त्रास फैलाउने र आपराधिक गतिविधि गर्नेलाई नियन्त्रण गर्न रणनीति बनाएको समेत जानकारी दिनुभयो । चुनावअघि भएका बिस्फोटका घटनामा संलग्नबारे अनुसन्धान भैरहेको पनि गृहमन्त्रालयले जनाएको छ ।

सरकारले दोस्रो चरणमा ४५ जिल्लामा हुन लागेको चुनावका लागि भोलि सार्वजनिक विदा दिएको छ । त्यस्तै आज मध्यरात १२ बजेबाट भोलि साँझ ७ बजेसम्म सार्वजनिक र निजी गाडी चलाउन पाइने छैन । तर जिल्ला प्रशासन कार्यालय मार्फत् प्राप्त अनुमतिपत्र भएका गाडी भने चल्नेछन् ।

Share It

Post Comments
थप विशेष