विशेष मोरङ ५ मा दुई दौँतरीको रोचक प्रतिस्पर्धा
Ujyaalo

सुमन तिमल्सिना/उज्यालो ।

मोरङ, मंसिर ६ – मोरङका ६ वटा निर्वाचन क्षेत्रमध्ये मोरङ क्षेत्र नम्बर ५ मा अन्य क्षेत्रको भन्दा चुनावी प्रतिस्पर्धा पृथक रहेको छ । पार्टी र विचारसमेत फरक भएका दौँतरीले यो चुनावमा एउटै क्षेत्रमा प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका छन् ।

वाम गठबन्धनबाट शिवकुमार मण्डल र नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिनु भएका अमृत अर्याल फरक पार्टी भए पनि लामो समयदेखि एकले अर्कोलाई साथ दिँदै आएका छन् । यसअघिको चुनावमा मण्डलले अर्याललाई र अर्यालले मण्डललाई सघाउँदै आएको जानकारहरु बताउँछन् । संविधानसभाको दोस्रो चुनावमा क्षेत्र नम्बर ४ बाट मण्डल र अर्याल क्षेत्र नम्बर ५ बाट विजयी हुनु भएको थियो ।

मण्डलले कांग्रेस नेता गयानन्द मण्डललाई सबैभन्दा थोरै ८ मतले हराउनु भएको थियो । अर्यालले फोरमका अध्यक्ष उपेन्द्र यादवलाई झण्डै तीन हजार मतको अन्तरले हराउनु भएको थियो । निर्वाचन क्षेत्र निर्धारण आयोगले मोरङमा क्षेत्रको संख्या घटाएर ६ वटामा झारिदिएपछि उनीहरु एक अर्कामा आमनेसामने भएका हुन ।

सबैभन्दा बढी मधेशी समुदायका मतदाता रहेको यस क्षेत्रमा फोरम नेपालका उम्मेदवार राजकुमार यादव पनि चुनावी मैदानमा हुनुहुन्छ । त्यसैले यो क्षेत्रमा त्रिपक्षीय संघर्ष हुने अनुमान गरिएको छ । साविकको क्षेत्र नम्बर ५ बाट २०६४ को संविधान सभा चुनावमा मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव निर्वाचित हुनु भएको थियो । २०७० को संविधानसभा चुनावमा कांग्रेसका अर्याल निर्वाचित हुनुभएको थियो ।

मोरङ ५ नम्बर क्षेत्रमा रंगेली नगरपालिकाको ४, ५, ६ र ७ वडा, धनपालथान गाउँपालिका, जहदा गाउँपालिका र विराटनगर महानगरपालिका १३, १४, १५, १६, १७ र १८ वडा समेटिएको छ । यस क्षेत्रमा कुल ८९ हजार दुई सय ८७ मतदाता रहेका छन् । स्थानीय तहको चुनावको मतपरिणामलाई अनुसार कांग्रेसको १६ हजार ३ सय ६९, संघीय समाजवादी फोरमको १२ हजार ९ सय ५४ र वाम गठबन्धनको १९ हजार ९ सय ६० मत रहेको छ ।

चुनावी एजेण्डा

यस क्षेत्रका धेरै उम्मेदवारका चुनावी एजेण्डा उस्तै–उस्तै देखिन्छ । मण्डलले आफ्नो चुनावी एजेण्डामा विराटनगर जुटमिललाई पुनः संचालनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । त्यस्तै अर्यालले ५ वर्षमा आफ्नो क्षेत्रमा धेरै विकासको काम गरेकोले चुनाव जित्ने दाबी गर्नुहुन्छ । उहाँले विराटनगर, इनरुवा र इटहरी हुँदै ग्रेटर विराटनगर निर्माणका लागि पहल गर्ने बताउँदै आउनु भएको छ । विराटनगरलाई प्रदेशको राजधानी बनाउने र रंगेली क्षेत्रको विकास गर्ने दुवै उम्मेदवारको एजेण्डा छ ।

Share It

Post Comments
थप विशेष