विशेष तेह्रथुममा दिउँसोदेखि गणना शुरु हुने ; गणनाका लागि विद्यालय विदा
Ujyaalo

प्रकाश धौलाकोटी/उज्यालो

तेह्रथुम, २२ – मंसिर तेह्रथुममा शुक्रबार दिउँसोदेखि मतगणना शुरु हुने भएको छ । शुक्रबार दिउँसो १२ बजेसम्ममा सवै मतपेटिका सदरमुकाममा संकलन गरि सर्वदलीय बैठक बसेर मतगणना शुरु गर्ने तयारी रहेको जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईले जानकारी दिनुभयो ।

म्याङ्गलुङ नगरपालिका लालीगुराँस नगरपालिका, मेन्छ्यायेम गाउँपालिका र छथर गाउँपालिका तथा फेदापका केही वडाको मतपेटिका बिहीबार बेलुका सदरमुकाम म्याङलुङ्ग पुर्याइएपनि आठराई गाउँपालिका र फेदाप गाउँपालिकाका केही ठाउँको मतपेटिका आज मात्र सदरमुकाम पुग्ने उहाँले बताउनुभयो ।

प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको तेह्रथुमको मतगणना सदरमुकाममा रहेको सिंहवाहिनी माविमा गर्ने तयारी छ । मतगणनाका लागि उपयुक्त स्थान नभएका कारण विद्यालय नै बन्द गरी गणना गर्न लागिएको हो । जम्मा ६६ हजार ६ सय ६७ जना मतदाता रहेको तेह्रथुममा जम्मा ४४ हजार ३ सय ७० जनाले मतदान गरेका छन् ।

Share It

Post Comments
थप विशेष