विशेष वामगठबन्धनका शक्ति र काँग्रेसका राजीव बीच यस्तो कसिलो बन्धन
Ujyaalo

बालकुमार शर्मा/उज्यालो जाजरकोट, मंसिर २२ – चुनावी प्रचारप्रसारका क्रममा कहिल्यै आमुन्ने सामुन्ने नभएका जाजरकोटको प्रतिनिधिसभा सदस्यका उम्मेदवार शक्ति बस्नेत र राजीव विक्रम शाह मतगणना हुना थालेपछि प्रायः सँगसँगै देखिन थालेका छन् ।

चुनावको प्रचारप्रसारका बेला फरक फरक ठाउँमा चुनावी सभा राखेका दुवै प्रतिस्पर्धी बीच भेटघाट र बोलचालको अवसर मिलेको थिएन । मंसिर १० गते चुनाव सम्पन्न भएपछि नेपाली काँग्रेसका उम्मेदवार शाह काठमाडौमा मुख्य नेताको चुनाव प्रचारमा जानुभयो भने पूर्व गृहमन्त्री समेत रहेका बस्नेत सल्यान र दैलेखको चुनावी सभामा जानुभयो । उहाँ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको चुनावी सभा चितवनमा समेत सहभागी हुनुभयो ।

दोस्रो चरणको चुनाव सम्पन्न भएपछि यी दुई नेता अस्ति बेलुकी सदरमुकाम आइपुग्नुभयो । मतगणनाका लागि सर्वदलिय बैठक बस्ने क्रममा देखादेख भएका यी दुई नेताले हिजो मतगणना शुरु भएपछि भने कसिलो गरी हातै मिलाए ।

वामगठबन्धनका उम्मेदवार शक्ति बस्नेत राती साढे ९ बजे तिरै होटलमा जानुभयो भने नेपाली काँग्रेसका उम्मेदवार राजीव विक्रम शाह ११ बजेतिर मात्र मतगणना स्थलबाट बाहिरिनुभयो ।

राजीव र बस्नेत बीच ख्याल ठट्टा

विहीबार मतगणनाका लागि सर्वदलिय बैठक बसेपछि यी दुई नेता बीच हात मात्र मिलाएनन् छोटोा ख्याल ठट्टा गर्न पनि भ्याए । ‘दुई वटा पार्टी मिलेर लड्दा पनि नजिते कहिले जित्नुहुन्छ ?’ राजीवले मुख खोलिहाल्नुभयो । तर बस्नेतले भने मुख खोल्नुभएन थोरै मुस्कान मात्र छर्नुभयो । फेरि राजीवले बोल्नुभयो ‘तर दुवै पार्टी मिलेपनि जनमत चाहिं मेरै पक्षमा देखिएको छ हैं’ यसपटक भने बस्नेतले हाँस्दै जवाफ दिनुभयो ‘त्यो त मतगणना भैसकेपछि थाहा पाइहाल्नुहुन्छ नि ?’

दुई प्रतिस्पर्धी उम्मेदवार बीच ठट्टा भैरहँदा बस्नेतको मोबाइलको घण्टी बज्यो । उहाँको शुभचिन्तकको फोन रहेछ । अन्तिम परिणामको बारेमा उहाँले जानकारी गराउनुभयो । बस्नेत र शाहको दैनिकी अहिले यसरी नै वितिरहेको छ । ‘मत गणनास्थलमा जाने, जाली बाहिरबाट हेर्ने, बाहिर शुभचिन्तक सँग कुराकानी गर्ने, फोनमा आएका जिज्ञासालाई मेटाउने र शुभचिन्तकलाई आश्वास्त तुल्याउने’

शुरु देखि नै अग्रता लिएको बाम गठबन्धनका उम्मेदवार शक्ति बस्नेतले पछिल्लो नतिजा अनुसार ६ हजार ७७९ मत प्राप्त गर्नुृभएको छ भने राजीव विक्रम शाहले ५ हजार १ सय ३० मत ल्याउनुभएको छ ।

Share It

Post Comments
थप विशेष