विशेष भोट गन्न थालेपछि मुख्य निर्वाचन अधिकृतलाई मातृशोक, गणनामा ढिलाई
Ujyaalo

किरण लोहनी/उज्यालो ।

गोरखा, मंसिर २२ – गोरखामा बिहीबार बेलुकी ७ बजेदेखि मतगणना चलिरहेको छ । दलका नेता कार्यकर्तादेखि मतदातासम्म छिटोछिटो नयाँ मतपरिणाम आइदियोस भन्ने चाहिरहेका छन् । तर हिजो बेलुकी गति लिएजस्तो देखिएको मतगणना बिहान भने एकाएक सुस्ताएको छ । बिहान करिव ७ बजेयता जुन गतिमा परिणाम आउनु पर्ने हो आउन सकेन । किन त ? जिल्ला निर्वाचन अधिकारी नारायण सापकोटा यसो भन्नुहुन्छ ।

१) कर्मचारी व्यवस्थापन

गोरखामा सुरुमा पहिले प्रतिनिधिसभाको दुवै क्षेत्रको गणना सकेर मात्र प्रदेश र अन्तिममा समानुपातिक तर्फको गणना गर्ने तयारी थियो । त्यही अनुसार गणकको रूपमा ६० जना कर्मचारीलाई अभिमुखिकरण गराइएको थियो ।

तर निर्वाचन आयोगको निर्देशन र जिल्लास्थित उम्मेदवारहरूको माग अनुसार प्रदेश र प्रतिनिधिसभाको मत गणना एकसाथ गर्नुपर्ने भयो । तर सिमीत कर्मचारीलाई धेरै समूहमा राखेर गणना गर्न केही अलमल भयो । ‘हामीले दुई क्षेत्रमा दुई दुई समुह बनाएर गर्ने तयारी गरेका थियौं तर ८ समूहमा गन्नु पर्ने भयो,’ सापकोटाले भन्नुभयो, ‘केही कर्मचारी दोस्रो चरणको चुनावमा भोट हाल्न जानु भएको थियो, आइपुग्न ढिलो भयो ।’

२) मुख्य निर्वाचन अधिकृतलाई मातृशोक

मतगणना सुरु हुनासाथ मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेललाई मातृशोक परेको खबर आयो । यद्यपि पौडेलले शुक्रबार बिहानसम्मको सबै काम गर्नु भयो तर उहाँको बदलामा काजमा आउनुभएका रितेन्द्र थापालाई जिल्लाको अवस्था लगायत कुरा बुझ्न समय लाग्दा पनि गणनामा प्रभाव पर्यो ।

३) सानातिना विवाद

गणनाका क्रममा जिल्लाको क्षेत्र नम्बर १ को प्रदेश क मा दुई मतपत्रलाई सदर मान्ने कि बदर भन्ने बिषयमा सानोतिनो विवाद र अलमल देखियो । त्यसको निराकरण गर्ने मुख्य निर्वाचन अधिकृतलाई सबैकुरा बुझ्न र बुझाउन समय लाग्दा पनि गणनामा अलमल भयो । उक्त विवाद समाधान भै गणना सुरु भैसकेको छ ।

यसबाहेक कर्मचारीको खानपिनको तालिका र पालो निर्धारण लगायत ब्यावहारिक अलमल, मतपत्रको अवस्थाबारे दलका प्रतिनिधिलाई बताउनु पर्ने लगायत कारण पनि गणनामा ढिलाई भएको हो । सुरुवाती चरणमा देखिएका यी सबै अलमल अन्त्य भै अब गणनालाई गति दिन थालिएको जिल्ला निर्वाचन अधिकारी सापकोटाको भनाई छ । निर्वाचन आयोगले गरेको निर्देश अनुसार ९६ घण्टा भित्र प्रत्यक्षतर्फको अन्तिम परिणाम सार्वजनिक गर्न सकिने उहाँको विश्वास छ ।

Share It

Post Comments
थप विशेष