उम्मेदवार
२०३४ सालदेखि राजनीतिमा प्रवेश गरेका रोमी गौचन १७ वर्षदेखि निरन्तर कांग्रेसको महासमिति सदस्य हुनुहुन्छ । उच्च शिक्षा अध्ययन गर्न काठमाडौं आएका गौचन पुल्चोक क्याम्पसमा नेपाल विद्यार्थी संघमा आवद्ध हुँदै राजनीतिमा प्रवेश गर्नु भएको थियो । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा वाणिज्य मन्त्री भएका गौचन २०५७ सालमा परराष्ट्र सहायक मन्त्री बन्नुभएको थियो । उहाँको जन्म २०१६ साल असोज २१ गते मुस्ताङको लेतेमा भएको हो । प्रविणता प्रमाणपत्र तह अध्ययन गरेका गौचनले त्यहाँभन्दा माथिको शिक्षा भने पूरा गर्न सक्नुभएन । २०३६ सालमा १३ दिन हिरासतमा राखिएपछि उहाँले इन्जिनियरिङको परीक्षा दिन पाउनु भएन । २०६२÷०६३ को जनआन्दोलनमा समेत उहाँलाई इलाका हदमा राखेर दुईवटा गाविसभन्दा बाहिर जान रोक लगाइयो । राजनीतिक दौरानमा उहाँले पटक/पटक जेल जीवन बिताउनु भएको छ । २०५१ सालमा कांग्रेसको जिल्ला कार्यसमितिको सचिव पदमा निर्वाचित गौचन २०५६ सालको निर्वाचनमा विजयी हुँदै सांसद बन्नुभयो । सांसदमा विजयी भएपछि सचिव पदबाट राजीनामा दिएका गौचनले परराष्ट तथा मानवअधिकार समितिमा कांग्रेसको तर्फबाट प्रतिनिधित्व गर्नुभयो । पश्चिमाञ्चलमा चलेको आन्दोलनको सहसंयोजक र भ्रष्टाचार विरुद्ध संसदको विश्वव्यापि संगठनको सदस्यको समेत जिम्मेवारी पाउनुभयो । गौचन २०७० सालको संविधानसभा चुनावमा मुस्ताङबाटै विजयी हुनुभएको थियो ।
थप उम्मेद्‌वारहरू