उम्मेदवार
२०७० सालको दोस्रो संविधानसभा चुनावमा मोरङ क्षेत्र नम्बर ९ बाट पराजित भएका वर्षमान पुन अहिले आफ्नै जन्मथलो रोल्पाबाट चुनाव लड्दै हुनुहुन्छ । २०२८ साल जेठ १८ गते जङ्कोट–१ रोल्पामा उहाँको जन्म भएको हो । उहाँले कानूनमा स्नातक गर्नुभएको छ । आफ्ना शिक्षक कृष्णबहादुर महराबाट प्रभावित भएर २०४२ सालदेखि राजनीतिमा सक्रिय रुपमा लागेका पुन २०४८ सालदेखि पार्टीको पूर्णकालीन सदस्य बन्नुभएको थियो । २०५५ सालमा पार्टीको केन्द्रीय सदस्य भएका वर्षमान पुन पार्टीको स्थायी समिति सदस्य समेत हुनुभयो । उहाँ अहिले नेकपा माओवादी केन्द्रको पोलिटव्युरो सदस्य हुनुहुन्छ । सशस्त्र बिद्रोहकालमा धेरैवटा आक्रमणको नेतृत्व गरेका पुन माओवादी लडाकुका डेपुटी कमाण्डर हुनुहुन्थ्यो । बि.सं २०६४ सालको संविधानसभा चुनावमा ललितपुर क्षेत्र नम्वर १ बाट उहाँ निर्वाचित हुनुभएको थियो । पुन डाक्टर बाबुराम भट्टराई नेतृत्वको सरकारमा अर्थमन्त्री हुनुहुन्थ्यो । अवसरको पहिचान गर्न सिपालु र आफ्नो काममा प्रतिवद्ध नेताका रुपमा परिचित वर्षमान पुनलाई छोटो समयमा पार्टीमा धेरै प्रगति गरेका नेताका रुपमा लिइन्छ । उहाँले धेरैजसो समय पार्टी अध्यक्ष ‘प्रचण्ड’ निकट भएर काम गर्नुभएको छ ।
थप उम्मेद्‌वारहरू