उम्मेदवार
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमको जन्म २००५ साल असारमा प्यूठानको दाखाक्वाडीमा भएको हो । प्यूठानकै मुक्ति माविमा एसएलसी पास गरेका नेता गौतम एमालेका पदाधिकारी र वरिष्ठ नेताहरुमध्ये सबैभन्दा पहिले पार्टी सदस्यता लिने नेता हुनुहुन्छ । एसएलसीपछि भने नेता गौतमले पक्लीहवा कलेज भैरहवाबाट पढ्दापढ्दै छाड्नुभएको थियो । त्यसपछि उहाँले औपचारिक शिक्षा लिनुभएन । २०२१ सालमा पार्टी सदस्यता लिएर २०२६ सालमै पूर्णकालीन भएर भूमिगत भएका गौतम जेलमै रहँदा २०३२ सालमा कोअर्डिनेशन केन्द्रीय कमिटी (को.के)मा आवद्ध हुनुभयो । २०३६ सालमा जेलबाट रिहा भएपछि उहाँ नेकपा मालेको केन्द्रीय सदस्य बन्नुभयो । २०४९ सालदेखि नेकपा एमालेको स्थायी कमिटीमा रहेका गौतम ०५१ सालमा पार्टीले मनमोहन अधिकारीको नेतृत्वमा सरकार चलाउँदा उपमहासचिव बन्नुभयो । उपमहासचिव हुँदा प्रभावशाली ढंगले काम गरेका गौतम ०५३ सालमा एमाले–राप्रपाको संयुक्त संरकारमा उपप्रधान तथा गृहमन्त्री हुनुहुन्थ्यो । गृहमन्त्री भएर गौतमले पार्टीलाई स्थानीय निकायमा जिताउन सत्ता र शक्तिको प्रयोग गरेको अहिले पनि आरोप लाग्ने गरेको छ । हक्की र मनमा लागेको कुरा बोल्ने नेताको छवी बनाएका गौतमले पार्टी भित्र विवाद बढ्दै गएपछि २०५४ सालमा नेकपा एमालेबाट अलग भएर नेकपा माले गठन गर्नुभयो । पाँच वर्षपछि ०५८ सालमा गौतम फेरि नेकपा एमालेमै फर्किनुभयो र आठौं महाधिवेशनबाट पार्टी उपाध्यक्षमा निर्वाचित हुनुभयो । तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको गणतन्त्र नेपालको पहिलो सरकारमा उहाँ उपप्रधान र गृहमन्त्री बन्नुभयो । तत्कालीन सेनापति प्रकरणमा पार्टीले सरकारलाई धोका दिएको भन्दै गौतमले लिखित असहमति राख्नुभएको थियो । गौतमले नेकपा माओवादीसँग रोल्पाका बिभिन्न ठाउँमा पुगेर पार्टीका तर्फबाट वार्ता गरेर शान्ति प्रक्रियाका लागि महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । राम्रा संगठक मानिने गौतमलाई पञ्चायतकालमा कार्यकर्ताले भैरव, चौधरी र हलिदाई भनेर पनि चिन्ने गर्थे । ०४८ र ०५१ सालमा बर्दिया १ बाट चुनाव जितेका गौतमले ०५६ सालमा पराजित हुनुभयो । त्यस्तै २०६४ सालको पहिलो संविधानसभा चुनावमा पनि उहाँ बर्दियाबाट पराजित हुनुभयो । तर २०७० सालको दोस्रो संविधानसभा चुनावमा भने उहाँ प्यूठान क्षेत्र नम्बर १ बाट विजयी हुनुभएको थियो ।
थप उम्मेद्‌वारहरू