समाचार भक्तपुरमा आचारसंहिता उल्लंघन
Ujyaalo

भक्तपुर, मंसिर ७ – प्रतिनिधिसभा तथा प्रदेशसभा चुनाव नजिकिदै गर्दा भक्तपुरमा चुनावी आचारसंहिता उल्लंघनका घटना बढेका छन् । चुनाव नजिकिदै गर्दा जिल्लाका विभिन्न स्थानमा तुल झुण्ड्याउने, ब्यानर, झण्डा राख्ने क्रम बढेको छ ।

निर्वाचन कार्यालय भक्तपुरका प्रमुख उमेश राईले आयोगले जारी गरेको आचारसंहिता विपरित दलहरुले भक्तपुरका अधिकांश क्षेत्रमा तुल ब्यानर टाँसेर आचारसंहिता उल्लघंन गरेका हुन् ।
जिल्ला स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले भक्तपुर नगरमा टाँगिएका तुल व्यानर लगायतका प्रचार सामग्री हटाउन र आइन्दा नटाँस्न निर्देशन दिए पनि दलहरुले कार्यालयको निर्देशनको अवज्ञा गर्दै आएको उहाँहरुले बताउनुभयो

चुनावी मैदानमा उत्रिएका एमाले, कांग्रेस, माओवादी केन्द्र, नेपाल मजदुर किसान पार्टी लगायतका दलहरुले भक्तपुरमा आचारसंहिता उल्लघंन गरेको कार्यालयको भनाइ छ । निर्वाचन अयोगले लागु गरेको निर्वाचन आचारसंहिता सरकार, सरकारका मन्त्री, स्थानीय तह वा निकायका कर्मचारी, सरकारी तथा गैरसरकारी संस्था, सुरक्षा निकाय, दलका भातृ संगठन, सञ्चारमाध्यम लगायतमा लागु हुने उल्लेख छ ।

आचारसंहिता लागु भएपछि कर्मचारीको सरुवा, बढुवा, नियुक्ति, अनुदान, सर्वेक्षण लगायत गतिविधी गर्न रोक लागेको छ । यस्तै विकास निर्माणका लागि भन्दै आकर्षक नयाँ कार्यक्रम थप गर्न, नयाँ बजेट बाँडफाँड र रकमान्तरमा समेत पाइने छैन ।

मन्त्री वा सार्वजनिक पदधारण गरेका व्यक्तिले कुनै उम्मेदवार वा दल विशेषको पक्ष वा विपक्षमा प्रचार प्रसार गर्न आचारसंहिताले रोक लगाएको छ । तर, कुनै मन्त्री निर्वाचनमा उम्मेदवार छ भने उसले आफ्नो पक्षमा चुनाव प्रचार गर्न पाउने आचारसंहितामा उल्लेख छ ।

निर्वाचन आचारसंहिता उल्लंघन गरेमा निर्वाचन आयोगले कालोसूचीमा राख्नेदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ । उम्मेदवारी खारेज समेत गर्नसक्ने अधिकार आयोगलाई दिएको छ । यसैगरी लगातार आचारसंहिता उल्लंघन गर्नेलाई आगामी ५ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने गरी कालोसूचीमा राख्न सक्ने व्यवस्था पनि गरिएको छ ।

Share It

Post Comments
थप समाचार