समाचार झडपपछि गणना सुरु हुन नसकेको भक्तपुरमा सुरु भयो मतगणना
Ujyaalo

भक्तपुर, मंसिर २२ – विहानैदेखि भएको विवाद सहमतिमा पुगेपछि भक्तपुर क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । विहान ९ बजे बसेको सर्वदलीय बैठकमा नेपाली कांग्रेसले बालकोट घट्नाको छानबिन गर्नुपर्ने, घाईतेको उपचार गर्नुपर्ने, सिसा फुटेको घरको क्षतिपूर्ति दिनुपर्ने माग राखेपछि मत गणना सुरु हुन सकेको थिएन ।

दिउँसो २ पटक प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको नेतृत्वमा बसेको बैठक सहमतिमा पुगेपछि साँझ ५ ः ३० बजेबाट मत गणना सुरु भएको हो । प्रमुख जिल्ला अधिकारी पोखरेलले भन्नुभयो–‘नेपाली कांग्रेस लगायतका दलसँग भएको बैठकमा घट्नाको निष्पक्ष छानबिन गर्ने र दोषीलाई कारबाही गर्ने सहमति भयो, त्यसपछि साँझबाट मतगणना सुरु भयो ।’

निर्वाचन अधिकृत उत्तम सिलवालले प्रतिनिधिसभाको दुई ठाउँमा र प्रदेशसभा तर्फ ‘क’ र ‘ख’ को छुट्टाछुट्टै गरी चार ठाउँमा शान्तिपूर्ण रुपमा मत गणना सुरु भएको बताउनुभयो । यसअघि एमालेका कार्यकर्ताले मतगणनास्थल अगाडि मगणनाको माग गर्दै नाराबाजी गरेपछि दुई पक्ष बिच झडप भएको थियो । यता भक्तपुर क्षेत्र नम्बर १ मा मतगणनाको परिणाम आउने क्रम सुरु भएको छ ।

मतपरिणाम अनुसार प्रतिनिधिसभा तर्फ कूल २ हजार ८ सय ४७ मतगणना गर्दा नेपाली कांग्रेसका बाबुराजा जोशीले १ हजार १ सय ५१ मतका साथ अग्रता लिएको छ । वाम गठबन्धनका तर्फबाट उम्मेदवार भएका माओवादी केन्द्रका मिलन सुवालले ९ सय ५१ नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले ४ सय ६० मत ल्याएका छन् । विवेशसिल साझा पार्टीले ७३ मत ल्याएको छ ।

त्यस्तै प्रदेशसभा तर्फ ‘क’ चाँगुनारायणमा १ हजार ३ सय ७० मत गन्दा वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेका एमालेका हरिशरण लामिछानेले ४ सय ७१ मतका साथ अग्रता लिएका छन् भने लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार रहेको नेपाली कांग्रेसका जीवन खत्रीले ३ सय २२ मत र नेमकिपाका निरज लवजूले १ सय २९ मत ल्याएका छन् ।

यता प्रदेश ‘ख’ भक्तपुरमा १ हजार मतगणना हुँदा नेमकिपाका सुरेन्द्रराज गोसाईले ७ सय ९८ मतका साथ अग्रता लिएका छन् भने वाम गठबन्धनका रोमन शिलाकारले २ सय ९० र लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार रहेका अनिल भुजु २ सय ११ मत ल्याएका छन् । मत गणना जारी रहेको छ ।

 

Share It

Post Comments
थप समाचार