समाचार जिल्ला निर्वाचन कार्यालयको तीन किलोमिटर आसपासको क्षेत्रमा निषेधाज्ञा जारी
Ujyaalo

मंसिर २२ – जिल्ला निर्वाचन कार्यालय स्याङ्जाको तीन किलोमिटर आसपास क्षेत्रमा शुक्रबार बेलुकीदेखि स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ ।

वाम गठबन्धनका कार्यकर्ताहरु पुनः चुनाव गराउनुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय र निर्वाचन अधिकृतको कार्यालय अघि नाराबाजी गर्न थालेपछि स्थिती सामान्य बनाउन प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो । बिहीबार सम्पन्न दोश्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भएपनि शुक्रबार बेलुकीसम्म मतगणना सुरु हुन सकेको छैन ।

बुथ कब्जा गरेको आरोपप्रत्यारोपमा उत्रेका कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताबिच बिहीबार देखि नै तनाव बढेको थियो । त्यसै विषयमा प्रतिनिधिसभा क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत हरिकृष्ण श्रेष्ठमाथि एमालेका नेता तथा आँधिखोला गाउँपालिका प्रमुख सुधिरकुमार पौडेलले हातपात समेत गरेका थिए ।

स्थिती तनावपूर्ण भएपछि प्रहरीले लाठिचार्ज समेत गरेको थियो । लाठिचार्जबाट वाम गठबन्धनका केही कार्यकर्ता घाइते भएका छन् ।
घटनापछि मतगणना प्रभावित भएको छ । अवरुद्ध भएको मतगणना अगाडि बढाउन मुख्य निर्वाचन अधिकृतले बैठक बोलाएपनि दलका प्रतिनिधि सहभागी भएका छैनन् ।

Share It

Post Comments
थप समाचार